Breaking News

News

Health

Sports

Entertainment

Videos

श्रीमानले चलाएको ट्याक्टरबाट खस्दा श्रीमतीको मृत्यु |

मंसिर २५, २०७३- नवलपरासीको मध्यविन्दु नगरपालिका–९ झ्यालबासमा श्रीमान्ले चलाएको ट्याक्टरबाट खसेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार शुक्रबार राति चोरमारामा लु २ त १२ २३ नम्बरको ट्याक्टरबाट खसेर मध्यविन्दु नगरपालिका–७ बस्ने वर्ष ४८ कि सुनही महतोको ज्यान गएको हो । ट्याक्टर चालक सुकाराम महतोले चलाएको ट्याक्टरबाट खसेर गम्भीर घाइते महत्तोको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।

रहेनन् हास्य कलाकार 'लाजालाम' अर्थात् आर पी भट्टराई

राजालाम' नामबाट चर्चित रहेका कलाकार आर पी भट्टराईको निधन भएको छ। चर्चित हास्य टिभी श्रृखंलाबाट 'राजालाम मेरो नाम' संवादका लागि चर्चित भट्टराई बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका हुन्। 
विराटनगरमा रहेकी फूपू घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आर पी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानकारी दिइन्।
 'विराटनगर फूपूको घरमा बेलुका खानपिन गरेर सुत्नुभएको रहेछ। बिहान फूपूले किन ढिलासम्म उठेन भनेर हेर्न जाँदा उहाँले मृत भेट्टाउनु भएछ', दीपाले भनिन्।
 भट्टराई चारदिन अगाडि त्यता गएका थिए। 'तीतो सत्य'का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन्।
 उनले हास्यव्यङ्ग्य एल्बम समेत सार्वजनिक गरेका छन्। ४२ बर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहबाट पीडित थिए। उनका श्रीमती र २ छोरा रहेका छन्।

नेपाली भाषाको हजार वर्ष

नेपाली भाषाको करिब एक हजार वर्ष पुरानो इतिहास खोतल्ने पुस्तक 'पाँच सय वर्ष' छापिएको २०२० सालमा हो। तर, यो किताबको बिजारोपण २०११ सालमै भइसकेको थियो। २०११ सालमा ईश्वर बरालले कुनै पत्रिकामा नेपाली भाषाको प्राचीनताबारे एउटा लेख लेखेका थिए। त्यो लेखमा कुनै एक वाक्य योगी नरहरिनाथको पुस्तक 'इतिहास प्रकाश' बाट उद्धरण गरिएको थियो। बरालको त्यही एक वाक्यले युवा जोशका बालकृष्ण पोखरेलको ध्यान तानिहाल्यो। उनलाई 'इतिहास प्रकाश' नपढेरै नहुने भयो। उनी पुस्तक खोज्न वनारसतिर लागे। किताबमा मुद्रकको नाम थिएन। वनारसका विभिन्न प्रेसमा खोज्दा पनि 'इतिहास प्रकाश' फेला परेन। अन्तत: उनी एउटा प्रेसमा पुगे, जहाँ त्यो किताब छापिएको थियो। उनले प्रेसवालासँग एउटा किताब मागेछन्। 'तर उसले मलाई किताब दिएन,' पोखरेलले ६२ वर्ष पुरानो घटना सम्झिए, 'जति पैसा दिए पनि किताब दिन सक्दिनँ भन्यो।' पोखरेललाई आफ्नो सबै दु:ख खेर जाने भयो भन्ने चिन्ताले सतायो। उनले प्रेसवालालाई बिन्ति चढाए। प्रेसवालाले अर्कै उपाय सुझायो, 'तपाईं योगीको घर जानुहुन्छ भने म बाटो बताइदिउँला!' उनलाई त ढुंगो खोज्दा देउतै मिल्यो। उनी प्रेसवालाले भनेको बाटो पछ्याउँदै अघि बढे। योगी नरहरिनाथसँग उनको पहिलो भेट त्यही थियो। यही भेटले यो किताबको बिजारोपण गरेको थियो। 'उहाँसँग कुरा भएपछि म नेपाली भाषाको इतिहास खोजी गर्न तयार भएँ,' उनले भने, 'यहीँबाट यो पाँच सय वर्ष भन्ने किताबको बिजारोपण भएको हो।' त्यतिबेला योगी नरहरिनाथ नेपालीमा लेख्न त लेख्थे तर कुराकानी संस्कृत र हिन्दीमा गर्थे। पोखरेल चाहिँ संस्कृत पढ्न त सक्थे तर सहज तरिकाले कुराकानी गर्न सक्दैनथे। 'बडो अप्ठ्यारो गरी कुरा गरेको थिएँ,' उनले उबेलाको कुरा सुनाए। संस्कृतमा कुरा गरे पनि योगी नरहरिनाथलाई नेपाली भाषाप्रति अनौठो प्रेम थियो रे। उनले नेपाली भाषा कम्तीमा एक हजार वर्ष पुरानो हुनसक्ने भनेपछि पोखरेल थप उत्साहित भए। योगीले नै प्रस्ताव गरेछन्, 'अब हाम्रो उमेर धेरै छैन। सबै इतिहास खोतल्न हाम्रो आयुमा नभ्याउन सक्छौं। तपाईं युवाहरू यो काममा लाग्नु पर्छ।' त्यसैबेला ठूलो नाम कमाइसकेका योगीको बचन उनले काट्ने कुरा भएन। पोखरेल नेपाल आएर नेपाली भाषाको इतिहास खोज्न कस्सिए। योगीले नक्सा बनाइदिएका थिए, कहाँ गएर के खोज्ने भन्ने। पोखरेलले धेरै सामग्री वीर पुस्तकालयमै फेला पारे। बाँकी कुरा खोज्न पश्चिमतर्फ लागे। उनले बझाङ, बाजुरा र सिञ्जामा निकै मेहेनतले काम गरे। उनले सिञ्जामा पनि थुप्रै सामग्री फेला पारेका रहेछन्। 'हिमाल नाघेर पारी गयौं, अग्लाअग्ला लेकमा बास बस्यौं,' ती दिन सम्झिँदा सपना हो कि जस्तो लाग्छ आजकल उनलाई। पाँच हजार मिटरको उचाइमा बास बसेको रात उनको सपनामा अझै आइरहन्छ। कर्णालीका गाउँमा उनीहरूलाई खुबै सम्मान पनि गर्थे स्थानीयले। खुबै सहयोग पनि गर्थे। 'पुराना पाण्डुलिपिको ठेलीका ठेली ल्याएर दिन्थे,' ८४ वर्षका पोखरेलले जवानीका दिन सम्झिँदै गए, 'चाङका चाङ पाना सबै पढेर कुन कति पुरानो फाइल हो भनेर छुट्याउनुपर्थ्यो।' कतिपय सय-पचास वर्षअघि तयार गरिएका प्रतिलिपि पनि हुन्थे, यस्ता सिफारिसको कुनै काम थिएन उनका लागि। अधिकांश प्रतिलिपिमा नयाँ भाषाको धेरै प्रभाव हुन्थ्यो। यो चाङमा सकेसम्म पुरानो प्रतिलिपि खोज्नु थियो उनलाई, जसमा प्रतिलिपि कालको भाषाको प्रभाव कम होस्। उनले भेटेका कतिपय महत्वपूर्ण सामग्री पनि किताबमा संकलन गर्न सकेनन्। देउसी महाकाव्यबारे लेख्न नपाएको कुरा उनको मनमा खड्किरहन्छ। २०१३ सालको तिहारमा उनी अर्घाखाँची गएका रहेछन्। उनले त्यहाँको देउसी पूर्वमा खेलिने भन्दा विल्कुलै फरक पाए। उनलाई आश्चर्य लागेछ, 'त्यहाँ त सिङ्गै महाकाव्य भट्याउने चलन रहेछ। एकै ठाउँमा देउसी खेल्दा पूरै दुईतीन घन्टा बित्ने।' त्यहाँको देउसीमा बलिराजाको पूरै कथा थियो। पद्यात्मक रुपमा बुनिएको त्यो कथा नै पहिलो नेपाली भाषाको महाकाव्य भएको उनको ठहर छ। 'भानुभक्तको भन्दा निकै पुरानो भाषा छ त्यो,' उनले भने, 'फेला पार्न सकियो भने त्यो नेपाली भाषाको पहिलो महाकाव्य हो।' काठमाडौं फर्कँदा बाटोमा पाटीमा बास बसेका रहेछन् उनीहरू। रातबिरात हिडेर जंगलको बाटो पार गर्नु पर्ने थियो। त्यसैले उनका साथीहरूले उनलाई चाँडै उठाइदिए। निन्द्रामै हिँड्दा उनले डायरी र क्यामरा भएको एउटा सानो झोला पाटीमै बिर्सिए छन्। उनले टिपेका देउसीका केही श्लोक त्यसमा थिए। 'फेरि त्यता जान सकिनँ,' उनले सम्झिए, 'त्यतिबेला हिँडडुल गर्न अहिलेजस्तो सुविधा थिएन।' उनले देउसीका श्लोक किताबमा राख्न त पाएनन् पाएनन्, फेरि त्यसको संकलन पनि गरेनन्। उनले आफ्नो अनुसन्धान भने रोकिन दिएनन्। लगातार ८ वर्ष अनुसन्धानमा विसं १३९४ देखि १९२३ सम्म ५२९ वर्षको नेपाली भाषाको इतिहास फेला पारे। उनले फेला पारेको सबैभन्दा पछिल्लो सामग्री १३९४ सालको पुण्य मल्लको ताम्रपत्र हो। यो ताम्रपत्रले त्यसबखतको नेपाली भाषाको स्वरूप दर्शाउँछ। त्यसबेलाको भाषा यस्तो थियो-'ठिक्याँ उकुका आला २ साँखा राँछुको आलो १ लुसाँ विर्याको आलो १ कोट मनदेवको आलो १ सभै एकत्र आला ५। सुर्यग्रहण सर्वकर अकर करी आला ५ पसा भया। श्री पुण्यमल्लकि शाखा प्रतिपाल। विद्याकर पँडितँकि शाखा भाइभतिजो चेलिको चेलो आदि भुँच।' त्यतिबेलासम्म फेला परेको यो ताम्रपत्र नै नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख थियो। त्यसयताका मुख्यमुख्य अभिलेख संकलन गरेर उनले अहिलेको स्वरुपको नेपालीमा उल्था गरे। त्यसबारे आफ्नो टिप्पणी व्याख्या लेखे। संकलन भएका सामग्री मिलाउन र उल्था गर्न उनलाई पूरै एक वर्ष लाग्यो। २०१९ सालमा उनले किताबको काम सके। विसं २०२० साल जेठमा जगदम्बा प्रेसले यो किताब छाप्यो। यो किताब छापिएपछि पनि नेपाली भाषाको प्राचिनता खोजी गर्ने क्रम चलिरहयो। त्यसबेला उनले विसं १७०० तिरको ठानेको 'बाजपरीक्षा' कम्तिमा हजार वर्ष पुरानो हो भन्ने थाहा भयो। त्यसैले, तेस्रो संस्करणमा उनले यसलाई किताबको सुरुमा सारे। र मिति लेखे विसं १००० तिर। १७०० लाई प्रतिलिपिकाल लेखे। बाजपरीक्षा नेपाली भाषाको इतिहास खोजिका लागि सबैभन्दा महत्वपूर्ण प्राप्ति भएको उनको ठहर छ। 'यो किताबको सबैभन्दा ठूलो प्राप्ति नै बाजपरीक्षा हो,' उनले भने, 'यसले नेपाली भाषा हजार वर्षअघि नै कति विकसित थियो भन्ने प्रमाणित गर्छ भने त्यसअगावै प्राकृतबाट छुट्टिइसकेको थियो भन्ने पनि देखाउँछ।' यो प्रमाणित नहुन्जेल नेपाली भाषा ब्रज भाषाबाट छुट्टिएको भन्ने सबैको मत रहेको तर यसपछि नेपालीमा ब्रज भाषाको केही प्रभाव मात्रै रहको निष्कर्ष निकालिएको उनी बताउँछन्। दैलेखको दुल्लुमा भूपाल दामुपालको समयको शिलालेख पनि फेला पर्‍यो। यसको मिति पोखरेलले विसं १०३८ भनेका छन् तर यसमा विवाद छ। तै पनि यो हजार वर्ष पुरानो हो भन्ने सबै इतिहासकारले स्वीकारेका छन्। पछिल्लो संस्करणमा उनले यही शीलालेखबाट पुस्तक सुरु गरेका छन्। यो शीलालेखमा लेखिएको रहेछ, 'ओं…(मणि?) पद्मे हुं।… दामुपाल भूपाल रेख भई। किष्णु अडैको भाइ साउँपाल अडै सा (के?) ९०३ ।' यसको लिपि भने फरक छ। अहिलेको स्वरुपको लिपि प्रयोग हुन थालेको निकैपछि मात्रै हो। उनले पहिलो संस्करणमा नेपाली भाषाका प्रथम प्रयोगकर्ता खस जातिको इतिहासबारे पनि निकै पृष्ठ खर्चिएका छन्। राजा महाराजाका सम्बन्ध पनि केलाएका छन्। तर, पछिल्लो संस्करणमा किताबको यो पाटो देखा पर्दैन। ''खस जातिको इतिहास' भनेर छुट्टै किताब लेखिसकेपछि यो आवश्यक परेन,' उनले भने, 'खस जातिबारे जान्न चाहनेले यो किताब पढे हुन्छ। त्यसैले पाँच सय वर्षबाट त्यो खण्ड झिकेको हुँ।' उनले शाह वंशसँग सम्बन्धित अभिलेखलाई निकै प्राथमिकतासाथ किताबमा राखेका छन्। पृथ्वीनारायण शाहलाई सबैभन्दा ठूलो महत्व दिएका उनले पृथ्वी साहित्य भनेर छुट्टै अध्याय नै राखेका छन्। तर, पृथ्वी नारायण शाहअघि पनि नेपाल उपत्यकामा नेपाली भाषा रहको यो किताबमा संकलित अभिलेखहरूले देखाउँछन्। मल्ल राजाहरूका पालामा शीलालेख बनाउँदा आंशिक वा पूर्ण रुपमा नेपाली भाषा प्रयोग गर्ने प्रचलन नेपाल उपत्यकामा थियो। बरू काठमाडौं पूर्वमा यसअघि नेपाली भाषा चलेको कुनै प्रमाण यो किताबमा भेटिँदैन। पूर्वमा मुख्यत किरात र मैथिली भाषाकै दबदबा थियो। अन्य जनजातिय भाषा पनि थिए। पृथ्वी नारायण शाहको राज्य विस्तारअघि नेपाली भाषा त्यहाँ त्यति चल्तिमा नरहेको नै देखिन्छ। नेपाल उपत्यकासम्म निकै पुरानो समयमा नै फैलिएको नेपाली भाषाको विकास क्रमको रुपरेखा पोखरेलले तयार गरे। उनले नै दिएको मितिअनुसार यसले नेपाली भाषाको करिब एक हजार वर्षको इतिहास समेटेको छ। उनले दिएका कतिपय मितिमा भने विश्वास गरिहाल्नुपर्ने खास आधार भेटिँदैन। धेरै ठाउँमा उनले अनुमानका भरमा मिति लेखेको देखिन्छ। यसमा थप आलोचनात्मक अध्ययन र प्रमाणको खोजी गर्नुपर्ने खाँचो छ। यी महत्वपूर्ण प्राप्तिहरूले नेपाली भाषाको तथा यो क्षेत्रको सभ्यताको विकास क्रम देखाए पनि पोखरेल सन्तुष्ट छैनन्। 'इतिहास लगभग यति नै पुरानो हो,' उनले भने,'तर तिथिमिति यकिन छैन। थप विवरणहरू भेटिने ठाउँ छ।' यो किताबले नेपाली भाषाको इतिहास खोजी गर्ने नयाँ ढोका खोल्यो। तर यसपछि भने यति गम्भीर काम हुन सकेन। किन त? पोखरेलले निकै रमाइलो पारामा जवाफ दिए, 'आजकल मानिसहरू हनि पिकिङ र मनि पिकिङमा लागे। यस्तो काम कसले गर्ने?'

मर्न देऊ गोविन्द केसीलाई

यहाँ नन्दप्रसाद मरेर के भयो र?
 उनकी श्रीमती त जिउँदै छिन्
 एउटा अनशनकारी मर्दा केको चिन्ता
यहाँ त लाखौं डकारबहादुरहरू जिउँदै छन्
एउटा डाक्टर मरेर हामीलाई केही घाटा हुन्न

यहाँ त लाखौं कसाहीहरू जिउँदै छन्
हामीलाई एक्लो बृहस्पतिको केको चिन्ता

 यहाँ त लाखौं राहु, केतु र धुम्रलोचनहरू घुमेकै छन्
जाबो गरिबलाई मलम पट्टिको कुर गर्ने तिमी
एक नम्बरको बेवकुफ हौ बालक
 तिमी एक नम्बरको बेवकुफ हौ

 बहिरालाई वेदना बुझाउन खोज्छौ तिमी
अन्धोलाई बाटो देखाउन खोज्छौ तिमी
 भालुलाई पुराण सुनाउन खोज्छौ तिमी
 धुन्दुकारीलाई अर्ती र उपदेश दिने तिमी
 आज थाहा भयो
 तिमी त पढेर पनि
 पढेर पनि बहुत अज्ञानी पो रहेछौ

 तिम्रै सङ्गीहरूले
 यहाँ कत्राकत्रा नर्सिङ होमहरू खोलिसके
चप्पल पड्काएर सहर छिर्नेहरू
 महल र टावरका मालिक भैसके
यो वैश्य युगमा पनि
 पैसा नचिन्न्ने तिमी
चाकडी र चाप्लुसीको आलोकमा रमाउनुको सट्टा
 चिसो छिडीमा एक्लई सुत्ने मुर्ख्याई गर्छौ

 त्यसैले तिमीजस्ता
पढेर पनि बहुत अज्ञानी तिमी
 मर्नुमा नै सबैको कल्याण छ
 तिमी मर्नुमा नै सबैको कल्यण छ।।

जहाँ ड्युटीमा निदाएमा र चुरोट पिएमा भूतले थप्पड हान्छ |


राजस्थानका कैयन् ठाउँ तथा भवनहरु आफ्नो भुताहा कहानीका कारण दुनियाभर चर्चित छन् । तर राजस्थानमा एउटा यस्तो भवन पनि छ जहाा यदि कोही पाले ड्युटीका क्रममा निदायो भने उसलाई भुतले थप्पड हान्छ । राजस्थानको कोटास्थित ब्रजराज भवन प्यालेस आफ्नो अनौठो इतिहासका लागि आजपनि चर्चित छ । १८० वर्ष पूरानो यो भवनलाई सन् १९८० मा ऐतिहासिक भवन घोषित गरिएको थियो । तर यहाँ आउने मानिसलाई अहिलेपनि यो भवन निकै भुताहा रहेको अनुभव हुन्छ । भनाई अनुसार यो होटलमा मेजर बर्टन नामक एक भुत बस्दछ जो ब्रिटिस शासनकालमा कोटामा कार्यरत थियो । सन् १८५७ मा विद्रोहका दौरान उसलाई भारतीय सिपाहीहरुले हत्या गरेका थिए । बर्टनसँगै उसका दुई छोरीपनि त्यहीँ मारिएका थिए । सन् १९८० मा कोटाकी पूर्व महारानीले मेजर बर्टनको आत्मालाई ऊ मारिएकै ठाउँमा देखेकी थिइन् भन्ने दाबी गरिएको छ । मानिसहरुका अनुसार यो भुतले कसैलाई पनि केही हानीनोक्सानी पूराउँदैन । तर रातमा ड्युटीको बेला यदि कोही गार्ड निदाएमा उसलाई थप्पड मार्दछ । त्यसैले उक्त होटेलमा काम गर्ने मानिसहरु कामका बेला सुत्न डराउँछन् । यतिमात्र होइन यो भवनमा यदि कसैले चुरोट पियो भने पनि ऊ भुतको थप्पडको भागिदार हुन्छ ।

८७ बर्षको उमेरमा एसएलसी पास गरेका राइटर बजेको ९९ बर्षमा निधन |

असार १० । काठमाडौं,८५ वर्षको उमेरमा एसएसली पास गरेर राष्ट्रिय चर्चामा आउनु भएका राइटर बाजे अर्थात बलबहादुर कार्कीको निधन भएको छ । ०५७ सालमा ८५ वर्षको उमेरमा एसएलसी पास गरेका राइटर बाजेको ९९ वर्षको उमेरमा सोलुखुम्बुको काँगेलस्थित निवासमै सोमबार राति निधन भएको हो । सदरमुकाम सल्लेरीबाट ५ घण्टा पैदल हिँडेपछि पुगिने काँगेल गाविस-८ घर भएका राइटर बाजेले ०५७ सालमा जीवनजायोति उच्च मावि नेलेबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । कार्कीले गाई गोठालो गर्दै एसएलसी दिएर उत्तीर्ण हुनु भएको थियो । ‘पढ्नु भनेको जान्नु,बुझ्नु हो, जागिरै खानुपर्छ भन्ने छैन’ भन्ने राइटर बाजेले पढ्नलाई उमेरले नछेक्ने सन्देश दिदै संसारबाट बिदा हुनु भयो । एसएलसी उत्तीर्ण गरेपछि भने पढाईलाई अघि बढाउन सक्नु भएको थिएन । पटक पटक दिँदा पनि असफल भएका राइटर बाजे ८५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेपछि चर्चामा आउनु भएको हो । बयोबृद्ध उमेरमा एसएलसी गरेपछि उनलाई भेट्न सोलुखुम्बुको दुर्गम गाविस काँगेलमै सञ्चारकर्मीदेखि अन्य पेशा व्यवसायका मानिस पनि पुग्ने गर्थे । राइटर बाजेले बि्रटिस सैनिकमा समावेश हुँदै दोस्रो विश्वयुद्द समेत लड्न भ्याउनु भएको थियो । घर नजिकैको काँगेल विमानस्थल बनाउनका लागि राइटर बाजेले १ सय ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । प्रेरणाको स्रोत बन्न सफल बेलायती सैनिकका पूर्व सदस्य राइटर बाजेको आधा जीवन भने गोठालो गर्दैमा बितेको थियो ।एक पटक एसएलसी दिँदैमा आत्महत्या रोज्ने र निराश हुनेहरुका लागि उनी प्रेरणाका गतिलो स्रोत थिए । राइटर बाजेका दुईजना छोरा, चारजना छोरी, १८ जना नातिनातिना र ११ जना पनाति-पनातिना रहेका छन् । बुढेसकालमा एसएलसी उत्तीर्ण गरेपछि चर्चा कमाएका राइटर बाजे तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा प्रधानमन्त्रीका आवेदन हालेका थिए । शाही शासन चलेका बेला ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि स्वच्छ छविको व्यक्तिबाट निवेदन मागेपछि उनी पनि निवेदन हाल्न नारायणहिटी पुगेका थिए । ८७ वर्षको उमेरमा प्रधानमन्त्रीका लागि नारायणहिटीमा निवेदन दर्ता गराउन उनी सोलुखुम्बुबाट काठमाडौं आएका थिए ।

Top