नेपाली भाषाको करिब एक हजार वर्ष पुरानो इतिहास खोतल्ने पुस्तक 'पाँच सय वर्ष' छापिएको २०२० सालमा हो। तर, यो किताबको बिजारोपण २०११ सालमै भइसकेको थियो।
२०११ सालमा ईश्वर बरालले कुनै पत्रिकामा नेपाली भाषाको प्राचीनताबारे एउटा लेख लेखेका थिए। त्यो लेखमा कुनै एक वाक्य योगी नरहरिनाथको पुस्तक 'इतिहास प्रकाश' बाट उद्धरण गरिएको थियो। बरालको त्यही एक वाक्यले युवा जोशका बालकृष्ण पोखरेलको ध्यान तानिहाल्यो। उनलाई 'इतिहास प्रकाश' नपढेरै नहुने भयो। उनी पुस्तक खोज्न वनारसतिर लागे।
किताबमा मुद्रकको नाम थिएन। वनारसका विभिन्न प्रेसमा खोज्दा पनि 'इतिहास प्रकाश' फेला परेन। अन्तत: उनी एउटा प्रेसमा पुगे, जहाँ त्यो किताब छापिएको थियो। उनले प्रेसवालासँग एउटा किताब मागेछन्। 'तर उसले मलाई किताब दिएन,' पोखरेलले ६२ वर्ष पुरानो घटना सम्झिए, 'जति पैसा दिए पनि किताब दिन सक्दिनँ भन्यो।'
पोखरेललाई आफ्नो सबै दु:ख खेर जाने भयो भन्ने चिन्ताले सतायो। उनले प्रेसवालालाई बिन्ति चढाए। प्रेसवालाले अर्कै उपाय सुझायो, 'तपाईं योगीको घर जानुहुन्छ भने म बाटो बताइदिउँला!'
उनलाई त ढुंगो खोज्दा देउतै मिल्यो। उनी प्रेसवालाले भनेको बाटो पछ्याउँदै अघि बढे।
योगी नरहरिनाथसँग उनको पहिलो भेट त्यही थियो। यही भेटले यो किताबको बिजारोपण गरेको थियो। 'उहाँसँग कुरा भएपछि म नेपाली भाषाको इतिहास खोजी गर्न तयार भएँ,' उनले भने, 'यहीँबाट यो पाँच सय वर्ष भन्ने किताबको बिजारोपण भएको हो।'
त्यतिबेला योगी नरहरिनाथ नेपालीमा लेख्न त लेख्थे तर कुराकानी संस्कृत र हिन्दीमा गर्थे। पोखरेल चाहिँ संस्कृत पढ्न त सक्थे तर सहज तरिकाले कुराकानी गर्न सक्दैनथे। 'बडो अप्ठ्यारो गरी कुरा गरेको थिएँ,' उनले उबेलाको कुरा सुनाए।
संस्कृतमा कुरा गरे पनि योगी नरहरिनाथलाई नेपाली भाषाप्रति अनौठो प्रेम थियो रे। उनले नेपाली भाषा कम्तीमा एक हजार वर्ष पुरानो हुनसक्ने भनेपछि पोखरेल थप उत्साहित भए। योगीले नै प्रस्ताव गरेछन्, 'अब हाम्रो उमेर धेरै छैन। सबै इतिहास खोतल्न हाम्रो आयुमा नभ्याउन सक्छौं। तपाईं युवाहरू यो काममा लाग्नु पर्छ।'
त्यसैबेला ठूलो नाम कमाइसकेका योगीको बचन उनले काट्ने कुरा भएन।
पोखरेल नेपाल आएर नेपाली भाषाको इतिहास खोज्न कस्सिए।
योगीले नक्सा बनाइदिएका थिए, कहाँ गएर के खोज्ने भन्ने। पोखरेलले धेरै सामग्री वीर पुस्तकालयमै फेला पारे। बाँकी कुरा खोज्न पश्चिमतर्फ लागे। उनले बझाङ, बाजुरा र सिञ्जामा निकै मेहेनतले काम गरे। उनले सिञ्जामा पनि थुप्रै सामग्री फेला पारेका रहेछन्।
'हिमाल नाघेर पारी गयौं, अग्लाअग्ला लेकमा बास बस्यौं,' ती दिन सम्झिँदा सपना हो कि जस्तो लाग्छ आजकल उनलाई। पाँच हजार मिटरको उचाइमा बास बसेको रात उनको सपनामा अझै आइरहन्छ।
कर्णालीका गाउँमा उनीहरूलाई खुबै सम्मान पनि गर्थे स्थानीयले। खुबै सहयोग पनि गर्थे।
'पुराना पाण्डुलिपिको ठेलीका ठेली ल्याएर दिन्थे,' ८४ वर्षका पोखरेलले जवानीका दिन सम्झिँदै गए, 'चाङका चाङ पाना सबै पढेर कुन कति पुरानो फाइल हो भनेर छुट्याउनुपर्थ्यो।'
कतिपय सय-पचास वर्षअघि तयार गरिएका प्रतिलिपि पनि हुन्थे, यस्ता सिफारिसको कुनै काम थिएन उनका लागि। अधिकांश प्रतिलिपिमा नयाँ भाषाको धेरै प्रभाव हुन्थ्यो। यो चाङमा सकेसम्म पुरानो प्रतिलिपि खोज्नु थियो उनलाई, जसमा प्रतिलिपि कालको भाषाको प्रभाव कम होस्।
उनले भेटेका कतिपय महत्वपूर्ण सामग्री पनि किताबमा संकलन गर्न सकेनन्। देउसी महाकाव्यबारे लेख्न नपाएको कुरा उनको मनमा खड्किरहन्छ।
२०१३ सालको तिहारमा उनी अर्घाखाँची गएका रहेछन्। उनले त्यहाँको देउसी पूर्वमा खेलिने भन्दा विल्कुलै फरक पाए। उनलाई आश्चर्य लागेछ, 'त्यहाँ त सिङ्गै महाकाव्य भट्याउने चलन रहेछ। एकै ठाउँमा देउसी खेल्दा पूरै दुईतीन घन्टा बित्ने।'
त्यहाँको देउसीमा बलिराजाको पूरै कथा थियो। पद्यात्मक रुपमा बुनिएको त्यो कथा नै पहिलो नेपाली भाषाको महाकाव्य भएको उनको ठहर छ। 'भानुभक्तको भन्दा निकै पुरानो भाषा छ त्यो,' उनले भने, 'फेला पार्न सकियो भने त्यो नेपाली भाषाको पहिलो महाकाव्य हो।'
काठमाडौं फर्कँदा बाटोमा पाटीमा बास बसेका रहेछन् उनीहरू। रातबिरात हिडेर जंगलको बाटो पार गर्नु पर्ने थियो। त्यसैले उनका साथीहरूले उनलाई चाँडै उठाइदिए। निन्द्रामै हिँड्दा उनले डायरी र क्यामरा भएको एउटा सानो झोला पाटीमै बिर्सिए छन्। उनले टिपेका देउसीका केही श्लोक त्यसमा थिए।
'फेरि त्यता जान सकिनँ,' उनले सम्झिए, 'त्यतिबेला हिँडडुल गर्न अहिलेजस्तो सुविधा थिएन।'
उनले देउसीका श्लोक किताबमा राख्न त पाएनन् पाएनन्, फेरि त्यसको संकलन पनि गरेनन्। उनले आफ्नो अनुसन्धान भने रोकिन दिएनन्। लगातार ८ वर्ष अनुसन्धानमा विसं १३९४ देखि १९२३ सम्म ५२९ वर्षको नेपाली भाषाको इतिहास फेला पारे। उनले फेला पारेको सबैभन्दा पछिल्लो सामग्री १३९४ सालको पुण्य मल्लको ताम्रपत्र हो।
यो ताम्रपत्रले त्यसबखतको नेपाली भाषाको स्वरूप दर्शाउँछ। त्यसबेलाको भाषा यस्तो थियो-'ठिक्याँ उकुका आला २ साँखा राँछुको आलो १ लुसाँ विर्याको आलो १ कोट मनदेवको आलो १ सभै एकत्र आला ५। सुर्यग्रहण सर्वकर अकर करी आला ५ पसा भया। श्री पुण्यमल्लकि शाखा प्रतिपाल। विद्याकर पँडितँकि शाखा भाइभतिजो चेलिको चेलो आदि भुँच।'
त्यतिबेलासम्म फेला परेको यो ताम्रपत्र नै नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख थियो।
त्यसयताका मुख्यमुख्य अभिलेख संकलन गरेर उनले अहिलेको स्वरुपको नेपालीमा उल्था गरे। त्यसबारे आफ्नो टिप्पणी व्याख्या लेखे। संकलन भएका सामग्री मिलाउन र उल्था गर्न उनलाई पूरै एक वर्ष लाग्यो। २०१९ सालमा उनले किताबको काम सके।
विसं २०२० साल जेठमा जगदम्बा प्रेसले यो किताब छाप्यो।
यो किताब छापिएपछि पनि नेपाली भाषाको प्राचिनता खोजी गर्ने क्रम चलिरहयो। त्यसबेला उनले विसं १७०० तिरको ठानेको 'बाजपरीक्षा' कम्तिमा हजार वर्ष पुरानो हो भन्ने थाहा भयो। त्यसैले, तेस्रो संस्करणमा उनले यसलाई किताबको सुरुमा सारे। र मिति लेखे विसं १००० तिर। १७०० लाई प्रतिलिपिकाल लेखे।
बाजपरीक्षा नेपाली भाषाको इतिहास खोजिका लागि सबैभन्दा महत्वपूर्ण प्राप्ति भएको उनको ठहर छ।
'यो किताबको सबैभन्दा ठूलो प्राप्ति नै बाजपरीक्षा हो,' उनले भने, 'यसले नेपाली भाषा हजार वर्षअघि नै कति विकसित थियो भन्ने प्रमाणित गर्छ भने त्यसअगावै प्राकृतबाट छुट्टिइसकेको थियो भन्ने पनि देखाउँछ।'
यो प्रमाणित नहुन्जेल नेपाली भाषा ब्रज भाषाबाट छुट्टिएको भन्ने सबैको मत रहेको तर यसपछि नेपालीमा ब्रज भाषाको केही प्रभाव मात्रै रहको निष्कर्ष निकालिएको उनी बताउँछन्।
दैलेखको दुल्लुमा भूपाल दामुपालको समयको शिलालेख पनि फेला पर्यो। यसको मिति पोखरेलले विसं १०३८ भनेका छन् तर यसमा विवाद छ। तै पनि यो हजार वर्ष पुरानो हो भन्ने सबै इतिहासकारले स्वीकारेका छन्।
पछिल्लो संस्करणमा उनले यही शीलालेखबाट पुस्तक सुरु गरेका छन्। यो शीलालेखमा लेखिएको रहेछ, 'ओं…(मणि?) पद्मे हुं।… दामुपाल भूपाल रेख भई। किष्णु अडैको भाइ साउँपाल अडै सा (के?) ९०३ ।'
यसको लिपि भने फरक छ। अहिलेको स्वरुपको लिपि प्रयोग हुन थालेको निकैपछि मात्रै हो।
उनले पहिलो संस्करणमा नेपाली भाषाका प्रथम प्रयोगकर्ता खस जातिको इतिहासबारे पनि निकै पृष्ठ खर्चिएका छन्। राजा महाराजाका सम्बन्ध पनि केलाएका छन्। तर, पछिल्लो संस्करणमा किताबको यो पाटो देखा पर्दैन।
''खस जातिको इतिहास' भनेर छुट्टै किताब लेखिसकेपछि यो आवश्यक परेन,' उनले भने, 'खस जातिबारे जान्न चाहनेले यो किताब पढे हुन्छ। त्यसैले पाँच सय वर्षबाट त्यो खण्ड झिकेको हुँ।'
उनले शाह वंशसँग सम्बन्धित अभिलेखलाई निकै प्राथमिकतासाथ किताबमा राखेका छन्। पृथ्वीनारायण शाहलाई सबैभन्दा ठूलो महत्व दिएका उनले पृथ्वी साहित्य भनेर छुट्टै अध्याय नै राखेका छन्।
तर, पृथ्वी नारायण शाहअघि पनि नेपाल उपत्यकामा नेपाली भाषा रहको यो किताबमा संकलित अभिलेखहरूले देखाउँछन्। मल्ल राजाहरूका पालामा शीलालेख बनाउँदा आंशिक वा पूर्ण रुपमा नेपाली भाषा प्रयोग गर्ने प्रचलन नेपाल उपत्यकामा थियो।
बरू काठमाडौं पूर्वमा यसअघि नेपाली भाषा चलेको कुनै प्रमाण यो किताबमा भेटिँदैन। पूर्वमा मुख्यत किरात र मैथिली भाषाकै दबदबा थियो। अन्य जनजातिय भाषा पनि थिए। पृथ्वी नारायण शाहको राज्य विस्तारअघि नेपाली भाषा त्यहाँ त्यति चल्तिमा नरहेको नै देखिन्छ।
नेपाल उपत्यकासम्म निकै पुरानो समयमा नै फैलिएको नेपाली भाषाको विकास क्रमको रुपरेखा पोखरेलले तयार गरे। उनले नै दिएको मितिअनुसार यसले नेपाली भाषाको करिब एक हजार वर्षको इतिहास समेटेको छ। उनले दिएका कतिपय मितिमा भने विश्वास गरिहाल्नुपर्ने खास आधार भेटिँदैन। धेरै ठाउँमा उनले अनुमानका भरमा मिति लेखेको देखिन्छ। यसमा थप आलोचनात्मक अध्ययन र प्रमाणको खोजी गर्नुपर्ने खाँचो छ।
यी महत्वपूर्ण प्राप्तिहरूले नेपाली भाषाको तथा यो क्षेत्रको सभ्यताको विकास क्रम देखाए पनि पोखरेल सन्तुष्ट छैनन्। 'इतिहास लगभग यति नै पुरानो हो,' उनले भने,'तर तिथिमिति यकिन छैन। थप विवरणहरू भेटिने ठाउँ छ।'
यो किताबले नेपाली भाषाको इतिहास खोजी गर्ने नयाँ ढोका खोल्यो। तर यसपछि भने यति गम्भीर काम हुन सकेन। किन त?
पोखरेलले निकै रमाइलो पारामा जवाफ दिए, 'आजकल मानिसहरू हनि पिकिङ र मनि पिकिङमा लागे। यस्तो काम कसले गर्ने?'
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: