Breaking News

News

Health

Sports

Entertainment

Videos

मंसिर १६, २०७३- ‘प्रार्थना गर्न जान थालेदेखि चट्टै भएको थियो तर....।’ एउटी ४५ वर्षे विवाहित युवती र हामी बीचको संवाद हो यो । आफ्नी २२ वर्षे छोरीलाई विगत ६ वर्षयता हामीकहाँ उपचार गराइरहेकी थिइन्, उनी । रोग ‘साइकोसिस’ तर ६ महिना दुवै बेपत्ताझैं भए । नियमित ‘फलो–अप’ र औषधोपचारले ठिक पनि भइरहेको थियो । ती छोरी कलेज गएर अध्ययन सुचारु बनाउन थालिसकेकी पनि थिइन् । तर कुन प्रेरणाले हो, हामीसँगको उपचार चटक्कै छोडेर चर्च जान थालेछन्, ती आमाछोरी । अनि कुन आधारमा हो, हाम्रो सल्लाहलाई लत्याएर औषधी बन्द गरिछन्, छोरीले । २ महिनासम्म गाह्रोसाह्रो केही परेन, प्रभुको चमत्कार भन्दै दंग परेछन्, सबै । तर रोगको प्रकृति पुन: सुरु भए, पुराना लक्षण अनि विवश भए, ती अस्पतालमै फर्कन ।
 यस्तै घटना, परिघटना दैनन्दिन बनेका छन्, अस्पतालमा अचेल । विभिन्न प्रकारका मानसिक रोग, छारेरोग जस्ता दीर्घ किसिमका बिरामी औषधोपचारका झन्झटिला प्रावधानले हो या त्यसलाई खर्चिलो मानेर या अस्पताललाई अपायक ठानेर हो वा अरू नै कुनै कारणले औषधीलाई बीचैमा छाडेर चर्चमा प्रार्थना गर्न जाने क्रम बढेको छ, अचेल । धर्म परिवर्तन गरेर रोग निको भएको अफवाह चलेको छ, समाजमा । तर रोग झनै जटिल, उपचार झनै गाह्रो बन्दै गइरहेछ । हामी चिकित्सकहरू यस्तो अवस्थामा किंकर्तव्यविमुढ बन्छौं । धर्म परिवर्तन र यससँग सम्बन्धित दृश्य–अदृश्य खेलबारे बोल्न पनि मिलेन, नत व्यक्ति विशेषका आस्था (?) मा प्रश्न उठाउन नै मिल्यो । बीचैमा औषधी छोड्नु बेठिक हो भनी चिकित्सकीय धर्म निर्वाह गर्न सम्झाइ—बुझाइ त गरिन्छ, तर व्यक्तिको विश्वासलाई परिवर्तनै गराउन भने सजिलो छैन ।
 चर्च गएर प्रार्थना गर्ने बाहेक ध्यानमात्र गरेर, योगबाट मात्र उच्च रक्तचाप, मधुमेह, अर्बुद रोगसमेत बिसेक हुने आदि हल्लाहरू पनि व्याप्त छन्, हाम्रो समाजमा । यी सबै अन्धविश्वास नै हुन् भन्ने चेतना विकास हुनु जरुरी भइसकेको छ । 
 यसको मतलब म यस्ता उपचार पद्धतिको भयंकर विरोधी नै हुँ भन्ने अर्थ कदापि नलागोस् । म स्वास्थ्य र अध्यात्ममा समन्वय हुनैपर्छ भनी दृढविश्वास राख्ने चिकित्सक हुँ । ‘ज्ञान—विज्ञानको हात जोड्नुपर्छ कर्ममा’ भन्ने समवाक्य मेरो सिद्धान्तसँग मेल खान्छ । वैज्ञानिक अनुसन्धान अनि शोधकार्यले समेत प्रार्थना, पूजाआजा जस्ता आस्थामा आधारित उपचार प्रक्रिया थुप्रै रोगको द्रुततर उपचारका लागि सहयोगी हुनसक्ने देखाएका छन् ।
 त्यस्तै योग उच्च रक्तचाप अनि एङजाइटीजस्ता रोग नियन्त्रणका लागि उपयोगी बन्न सक्ने अनि ध्यान व्यक्तित्वजन्य समस्याको उपचारमा प्रयोग हुनसक्ने प्रमाणित नै भइसकेका तथ्य हुन् । तर यस्ता उपचार हाम्रो मेडिकल उपचार पद्धतिका परिपूरक मात्र हुनसक्छन् । अर्थात् औषधी सँगसँगै यी उपचार कायम राखेमा बिरामी चाँडै रोगमुक्त हुनसक्छन् । तर यी पद्धति एक्लाएक्लै कदापि काफी हुँदैनन् । बरु हानिकारक नै बन्न सक्छन् ।

 ‘साइकोसिस’ जस्ता मानसिक समस्याको लक्षण दोहोरिने छारेरोगमा पुन: छोप्न थाल्ने, उच्च रक्तचापका कारण प्यारालाइसिससमेत हुनसक्ने यी सबै हल्लाको पछि लागेर मेडिकल उपचार बन्द गर्नुका दुष्परिणाम हुन् । यस्ता प्रचलित मेडिकलेत्तर उपचार विधिमा संलग्नहरूले बिरामीले प्रयोग गरिरहेको उपचार बन्दै गराउनतिर लाग्नुको साटो आफूले जानेको सीपलाई विज्ञानसम्मत रूपमा मेडिकल प्रविधिको परिपूरककै रूपमा माने बिरामीलाई झनै फाइदा हुने थियो कि ? अझ त्यस्ता आस्थामा आधारित उपचारविधि प्रयोगकर्ताहरू त मेडिकल उपचारैका लागिसमेत दूतको रूपमा उपयोगी हुनसक्ने अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् । अर्थात् आफ्ना उपचारविधि कायमै राखी बिरामीहरूलाई डाक्टरकहाँ जाने सल्लाह अनि प्रेरणा दिन सक्षम हुनसक्छन् ती । यसले त झनै उपचार प्रक्रिया छिटै सफलतातिर लाग्न सक्छ ।

 पुनश्च: बिरामीहरूको कमजोरी, लाचारीपन या असहायपनाबाट फाइदा उठाएर धर्म परिवर्तनमा उद्यत गराउने, अझ चलिरहेको औषधीसमेत बन्द गराउने पक्षप्रति आँखा चिम्लिएर कति दिन बस्न सकिएला र ? व्यक्तिसँगै समाजको चेतनास्तर बढ्दै गएपछि यी प्रक्रिया बन्द त होलान् नै । तर पनि जनस्वास्थ्यमा नकारात्मक असर आउन नदिनका लागि जिम्मेवार निकायले यसतर्फ ध्यान दिन थाल्नुपर्ने हो कि ?

About Taja Samachar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Post a Comment


Top