मंसिर १५, २०७३- वस्तु तथा सेवा खरिदका लागि काठमाडौं उपत्यकाभन्दा मुलुकको अन्य क्षेत्र बढी महँगो देखिएको छ । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को तुलनामा पहाडी, हिमाली र तराई क्षेत्रमा सामान किन्न बढी खर्चिनुपर्ने सरकारी प्रतिवेदनमै देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्म काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५ दशलमव ७ प्रतिशत र पहाडमा ८ दशलमव ९ प्रतिशत छ । यो मुलुकका अन्य क्षेत्र (हिमाल र तराई) भन्दा पनि बढी हो । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ९ दशमलव १ र पहाडमा ८ दशलमव ५ प्रतिशत थियो । राष्ट्र बैंकले काठमाडौंलाई अन्य पहाडभन्दा अलग्गै राखेर विश्लेषण गर्छ ।
एक वर्षअघिको तुलनामा गत असोजमा सहरी क्षेत्रको मूल्य वृद्धिदरमा ३ दशमलव ४ प्रतिशत विन्दुले सुधार (घटेको) भएको छ । तर, सोही अवधिमा पहाडी क्षेत्रमा उक्त वृद्धिदर ० दशमलव ४ प्रतिशत विन्दुले बढेको छ । यसले सहरी क्षेत्रको मूल्य वृद्धिदर पहाडको भन्दा उच्च रहेको पुष्टि हुन्छ ।
पहाडको मूल्य वृद्धि हिमाल र तराईको भन्दा पनि बढी हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजमा हिमाली क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६ दशलमव ३ प्रतिशत र तराई क्षेत्रको ६ दशमलव २ प्रतिशत छ । ती क्षेत्रको मूल्य वृद्धिदर पनि काठमाडौंको तुलनामा बढी हो ।
०७२ को असोज महिनामा हिमाली क्षेत्रको मूल्य वृद्धिदर ६ दशमलव ९ प्रतिशत र तराईको ७ दशमलव ५ प्रतिशत छ । ०७२ वैशाखको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले मूल्य वृद्धिदर गत वर्षको पुसमा १२ दशमलव १ प्रतिशत पुग्यो । नाकाबन्दी खुलेपछि मूल्य वृद्धिदरमा केही सुधार त देखियो तर त्यो सुधारको असर पहाडी क्षेत्रमा खासै देखिएन । सोही कारण एक वर्षको अवधिमा पहाडी क्षेत्रको मूल्य वृद्धिदर सामान्य रूपमा बढ्यो ।
सहरी क्षेत्रको तुलनामा पहाडमा प्रतिस्पर्धा कम हुनुका साथै वस्तु तथा सेवाको उपलब्धता पनि थोरै हुने भएकाले पहाडको मूल्य वृद्धिदर अपेक्षित रूपमा घट्न नसकेको अर्थविद् केशव आचार्यले बताए । भूकम्प र नाकाबन्दीका कारण गत वर्ष मुलुकभर मूल्य वृद्धि अकासिएको थियो । नाकाबन्दी खुलेपछि वस्तुको उपलब्धता बढ्यो । यसले मूल्य वृद्धिमा सुधार देखियो । तर, सीमित प्रतिस्पर्धा र बढदो मागको कारण पहाडमा मूल्य वृद्धिदर घट्न नसकेर बढेको हो । ‘उच्च प्रतिस्पर्धा र वस्तु तथा सेवको आपूर्ति बढेपछि सहरी क्षेत्रको मूल्य वृद्धिदरमा सुधार आएको हो,’ उनले भने ।
पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि वस्तु तथा सेवाको माग बढ्दै गएको छ । रेमिट्यान्स आप्रवाहले ती क्षेत्रका बासिन्दाको उपभोग र खरिद क्षमतामा वृद्धि भएको छ । यसरी वस्तु तथा सेवाको उपलब्धताको तुलनामा माग बढी भएपछि सो क्षेत्रमा मूल्य वृद्धि उच्च बनेको हो । नेपाल भूपरिवेष्टित मुलुक भएकाले काठमाडौं उपत्यका र तराईको तुलनामा पहाडमा ढुवानी भाडा महँगो पर्छ । यस कारणले उक्त क्षेत्रको मूल्य वृद्धि उच्च भएको विश्लेषकहरू बताउँछन् ।
गत वर्षको असोज महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा खाद्य र गैरखाद्य तथा सेवा दुवै समूहको मूल्यमा केही कमी आएको छ । तर, गैरखाद्य तथा सेवा समूहको तुलनामा खाद्य समूहमा पर्ने वस्तुको मूल्य बढीले घटेको छ । गत असोजसम्म खाद्य समूहको मूल्य वृद्धिदर ५ दशमलव ७ प्रतिशत र गैरखाद्य समूहको ७ दशमलव ६ प्रतिशत छ । अघिल्लो वर्षको असोजमा खाद्य समूहको ९ दशलमव ७ प्रतिशत र गैरखाद्य समूहको ७ दशमलव १ प्रतिशत थियो ।
खाद्य समूहअन्तर्गत पर्ने दलहन तथा गेडागुडी, घिउ तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा, मासु तथा माछा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७ दशलमव ८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३ दशलमव ४ प्रतिशतले बढेको छ ।
यस्तै गैरखाद्य समूहअन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११ दशमलव २ प्रतिशतले, शिक्षा क्षेत्रको ९ दशलमव ६ प्रतिशतले, घरभाडा ९ दशलमव ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असोजमा मुलुकको समग्र वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६ दशमलव ७ प्रतिशत छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ८ दशलमव २ प्रतिशत थियो । गत असोजमा थोक मूल्य वृद्धिदर ५ प्रतिशत छ । अघिल्लो वर्षको असोजमा उक्त वृद्धिदर ५ दशमलव ९ प्रतिशत थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर साढे ७ प्रतिशतभित्र कायम गने लक्ष्य राखेको छ । गत वर्ष साढे ८ प्रतिशतको लक्ष्य राखे पनि वर्षको अन्त्यमा त्यस्तो दर ९ दशलमव ९ प्रतिशत रहेको थियो ।
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: political Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: