गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- ८ गिरानचौरमा 'धुर्मुस सुन्तली फाउन्डेशन' द्वारा निर्मित एकीकृत बस्तीअन्तर्गतका घरहरू भूकम्पपीडित जनतालाई हस्तान्तरण गरिन् । उक्त एकीकृत बस्तीमा ६३ व्यक्तिगत, एक सामूहिक र एक पाहुना घरसमेत जम्मा ६५ घर रहेको बताइन्छ ।
उक्त बस्ती निर्माणको लागि व्यक्ति र संस्थाबाट गरी ६ करोड १७ लाख एक हजार रूपैयाँ संकलन भएको र बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार रुपैयाँ खर्च भएको हिसाबसमेत फाउन्डेसनले सार्वजनिक गरेको समाचार प्रकाशित भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सम्पन्न कार्यकोहरू चौतर्फी रूपमा प्रशंसा भएको छ । जुन प्रशंसाबाट हौसिएका सीताराम कट्टेल र कुञ्जना घिमिरेले 'अब देशकै विकास गर्दछौं' भन्ने अभिव्यक्ति दिएको समाचारसमेत प्रकाशमा आएको छ । देशको विकास धुर्मुस सुन्तली फाउन्डेसनको प्रयासले मात्र कति सम्भव होला ? यो प्रश्न आफ्नो ठाउँमा छँदैछ, तर पनि देशमा राजनीति, विकास, समाज सेवा अनि राज्य पुनर्संरचनाको नाममा चौतर्फी दोहन मच्चिइरहेको र त्यसै दोहनका कारण मुलुकको अवस्था निरन्तर खस्किइरहेका बेला दुईचारजना कलाकारले राष्ट्रिय (सरकारी) एवं अन्तर्राष्ट्रिय सहयोगविना छोटै समयमा भूकम्पपीडितहरूलाई सहयोग पुर्याउने कार्य गरेको विषयलाई प्रशंसनीय र अनुकरणीय दुवै मान्नुपर्छ ।
नेपालमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पले देशका १४ जिल्लामा व्यापक जनधनको क्षति पुग्न गएको थियो । जुन क्षतिवापत जनताले अझै राहत सहयोग प्राप्त गर्न सकेका छैनन् । भूकम्प प्रभावितहरूको ठूलो संख्याले दुई वर्षायाम पाल र झुपडीमुनि व्यतित गर्नुपर्यो भने अब दोस्रो हिउँद (जाडो) पनि त्यसैगरी बिताउनुपर्ने निश्चित छ । यसबीच सरकारको तर्फबाट उद्धार कार्य सन्तोषजनक नै रहेको भए पनि राहत वितरण र पुनर्निर्माण कार्य भने खासै हुन सकेको छैन ।
बरु उल्टै देशका अगुवा (सत्ता साझेदारीमा लिप्त) दलहरूबीच राहत रकमलाई आफ्नो स्वार्थअनुकुल प्रयोग (अर्को अर्थमा दुरुपयोग) गर्ने विषयमा भइरहेको प्रतिस्पर्धा, भूकम्पपश्चात् संविधान निर्माणको निहुँमा कथित मधेसीहरूद्वारा गरिएको मधेस आन्दोलन र त्यसलाई बल पुर्याउन भारतले नेपालविरुद्ध गरेको नाकाबन्दी जस्ता कार्यले भूकम्पपीडितहरूको जीवन थप कष्टकर बन्न पुग्यो । यसबाट राहत कार्यसमेत प्रभावित हुन पुग्यो ।
यसरी राहत कार्यको जिम्मेवारी बोकेको सरकार एवं राहतको नाउँमा विदेशी सहयोग भित्र्याउने गैरसरकारी संस्थाहरूको तर्फबाट सन्तोषजनक कार्य हुन नसकिरहेको अवस्थामा व्यक्तिको स्वतन्त्र पहलमा यस किसिमको कार्य हुनुलाई प्रशंसनीय मान्नुपर्छ । यस अर्थमा धुर्मुस सुन्तली फाउन्डेसन प्रशंसाको पात्र बनेको छ । यस किसिमको कार्य गर्ने जोकसैलाई सम्मान र उत्प्रेरित गर्नुपर्छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले जुन कार्य गरेको छ, त्यसलाई प्रशंसाको विषय मात्र बनाइनु हुँदैन । यो कसैको लागि प्रेरणाको विषय हो भने कसैको लागि लाजको विषय पनि हुन सक्छ । जुन कुराको आधार खोज्न टाढा जानु पर्दैन, हाम्रै परिवेशले राम्रोसँग प्रस्ट्याउँछ । यस क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले हस्तान्तरण गरेको बस्तीका घर वितरण गर्दै राष्ट्रपति भण्डारीले फाउन्डेसनबाट सरकारले पनि पाठ सिकेर एकीकृत बस्तीको योजना अघि सार्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीसँगै कार्यक्रममा उपस्थित मन्त्रीले त झन् धुर्मुस सुन्तलीसँग तपाईंहरूमा यस किसिमको कार्य गर्ने विचार कसरी आयो भनी प्रश्नसमेत गरेका थिए ।
हो, मन्त्रीको मस्तिष्कमा समेत घर नगरेको यस किसिमको रचनात्मक कुरा धुर्मुस सुन्तली जस्ता हास्य कलाकारहरूको सोचाइमा आउनु र त्यसलाई व्यवहारमै परिणत गरेर देखाउनुलाई वर्तमान नेपाली परिवेशमा अनौठो मात्र नभएर असम्भव मान्नुपर्छ । यस प्रसंगमा थप आश्चर्य त केमा मान्नुपर्छ भने फाउन्डेसनले आफूले व्यक्ति र संस्थाबाट संकलन गरेको रकम र निर्माण कार्यमा लागेको खर्च एवं बचतको हिसाबसमेत सार्वजनिक गरेको छ । यो सरकार, राजनीतिक दल एवं गैरसरकारी संस्थाहरूको लागि व्यंग्य मात्र नभएर प्रहारसमेत हो । यसो किनभने हामीकहाँ राजनीतिक दल एवं गैरसरकारी संस्थाहरूले आफूहरूलाई विभिन्न स्रोतहरूबाट प्राप्त रकम र खर्चको पारदर्शी हिसाब-किताब नै राख्दैनन् ।
कसैले हिसाबको कुरा उठायो भने त्यो उनीहरूलाई गालीसरह लाग्छ । जबकि सरकार भनेकै तीनै दलका व्यक्तिहरू समावेश दस्ता हो । उनीहरूको व्यवहार कस्तो होला ? प्रस्ट छ । जुन मुलुकमा क्यान्टोनमेन्टको रकम दुरुपयोग र सांसद पद बिक्रीबाट प्राप्त रकमबारे छानबिन गर्न खोजेको कुराबाट त्रसित भई अख्तियार प्रमुखमाथि महाभियोग प्रस्ताव ल्याइन्छ, त्यहाँ कसैले स्वेच्छापूर्वक आफूलाई प्राप्त रकमको हिसाब देखाउने कार्य गर्छ भने त्यसप्रति कस्तो धारणा बन्ला ? सहजै अनुमान गर्न सकिन्छ । जेसुकै होस्, फाउन्डेसनले निर्माण कार्य गरेर मात्र होइन, संकलित रकमको हिसाब सार्वजनिक गरेर थप प्रशंसनीय कार्य गरेको छ ।
धुर्मुस सुन्तलीको कार्य कुन अर्थमा समेत प्रशंसनीय छ भने उनीहरू दुवैजना कलाकार हुन् । यो देशका कलाकारलाई जनताले औधि माया गर्छन् । तर हाम्रा कलाकारलाई जनताको मायाले मात्रै पुग्ने गरेको छैन । त्यसैले आकर्षक कमाइ गर्ने र सुखद जीवन बाँच्ने उद्देश्यले नेपाली कलाकारको ठूलो पंक्ति अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान जस्ता मुलुकमा पलायन हुने गरेको छ । यसरी पलायन हुनेहरूले ती देशहरूमा नेपाली कला संस्कृतिको प्रचार-प्रसार एवं संरक्षणमा योगदान पनि दिएका होलान्, तर धुर्मुस र सुन्तलीले गरेको योगदानको तुलनामा त्यो केही होइन । नेपाल र नेपालमा बस्ने नेपालीहरू सुरक्षित एवं सम्मानित भए मात्र विदेशमा बस्नेहरूले गरेका कार्यहरूको सार्थकता हुने हो ।
त्यसैगरी सम्मानपूर्वक बाँच्ने भनेको स्वाभिमानपूर्वक बाँच्नु पनि हो । अभावमै पनि एउटा नेपाली नेपालमा जति स्वाभिमानपूर्वक बाँच्न सकेको छ, सम्पन्नताबीच पनि विदेशी भूमिमा बाँच्नेहरूले त्यो स्वाभिमानलाई पक्कै पनि कायम राख्न सकेका छैनन् । यस अर्थमा धुर्मुस र सुन्तली वास्तविक अभिनेता र अभिनेत्री हुन् । उनीहरूले अभिनयबाट मात्र नभएर नेपाली जनताको कष्टमा साथ दिएर देश र जनताप्रति ठूलो गुन लगाएका छन् । निजी स्वार्थपूर्तिलाई बहादुरी एवं सत्कर्म ठान्नेहरूलाई सकारात्मक शिक्षा दिएका छन् । राष्ट्र र जनताको लागि केही गरौं भन्ने सोच हुनेहरूलाई हौसला प्रदान गर्ने काम गरेका छन् ।
सरकार र दलहरू तिनीहरूलाई राहत वितरण गर्ने विषयमा समेत निम्नस्तरको राजनीति गरिरहेका छन् । त्यो राजनीति अरू केही नभएर संकलित राहत रकमको दुरुपयोगको लागि हो । यस्तो अवस्थामा धुर्मुस र सुन्तलीहरूले गरेका कार्य र देखाएको साहस प्रशंसनीय छ ।
भूकम्पपीडितहरूका लागि एकीकृत बस्ती निर्माण कार्यवापत प्राप्त प्रशंसाबाट हौसिएका धुर्मुस र सुन्तलीले 'अब देशै बनाउँछौं' भन्नेसम्मको प्रतिबद्धता व्यक्त गरेको समेत प्रकाशमा आएको छ । देशका आदर्श नागरिकले देश विकासमा देखाउने यस किसिमको समर्पण भावलाई प्रशंसा गर्नुपर्छ । प्रत्येक नागरिकमा मैले राष्ट्रबाट के प्राप्त गर्छु भन्ने कुरासँगै मैले राष्ट्रलाई के योगदान दिन सक्छु भन्ने भावनाको विकास हुने हो भने राष्ट्रको विकास हुन धेरै समय लाग्ने छैन । तर हाम्रो ध्यान देशबाट आफूले के पाउने भन्नेमा मात्र केन्द्रित हुने गरेको छ ।
यसरी देशबाट आफूले के पाउने भन्ने कुरालाई प्रमुख ध्येय बनाउनेहरू यतिबेला देशलाई भागबन्डा गर्ने र आफूलाई प्राप्त हिस्साको एकलौटी दोहन गर्ने कुरामा लागिपरेका छन् ।यस सन्दर्भमा दुःखद पक्ष त के रहेको पाइन्छ भने विदेशबाट उच्च शिक्षा आर्जन एवं अरू मुलुकहरूले कसरी विकास गर्न सकेका छन् भन्ने कुरालाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकाहरू नै देशलाई कंगाल पार्ने कार्यमा कम्मर कसेर लागेका छन् ।
यस किसिमको कार्य गर्नुलाई उनीहरूले पराक्रम ठान्ने गरेका छन् । विडम्बना, उनीहरूले यस किसिमको कार्य राजनीति एवं समाजसेवाको नाममा गरिरहेका छन् । यसैक्रममा यतिखेर देश विकासको लागि विदेशी सहयोग भित्र्याउने र त्यसमै रमाउने गैरसरकारी संस्थाहरूले समेत राष्ट्रिय जीवनको हरेक पक्षलाई भ्रष्टीकरण गर्दै राजनीतिक व्यक्तिहरूको उल्लिखित अभियानलाई साथ दिइरहेका छन् ।
अझ देशको संविधान निर्माण प्रक्रिया भाँड्न र सर्वस्वीकार्य हुन नदिन यहाँका गैरसरकारी संस्थाहरूले खेलेको भूमिकाले देशमा विभाजन निम्त्याउन प्रयत्नशील राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तत्वहरूलाई मद्दत पुगेको बिर्सन मिल्दैन । यस क्रममा हामी देख्छौं- अझै पनि देशको व्यवस्थापिका-संसद्का सदस्यहरू आफ्नो व्यवस्थापकीय दायित्वलाई भन्दा गैरसरकारी संस्थाहरूद्वारा आयोजित कार्यक्रममा सहभागी हुने र तिनीहरूकै प्रायोजनमा विदेश भ्रमण गर्ने जस्ता कुरालाई प्राथमिकता दिने गरेका छन् । राष्ट्र निर्माण कार्यमा जनताको प्रतिनिधित्व गर्नेहरूबाटै यस किसिमको व्यवहार प्रदर्शन हुनु लाजमर्दो हो ।
यस पृष्ठभूमिमा फाउन्डेसनद्वारा गरिएको कार्य आज सिंगो राष्ट्रकै लागि प्रेरणादायी बनेको छ । यसले ६३ भूकम्पपीडित परिवारहरूलाई वासस्थानको निर्माण गर्ने कार्य मात्र गरेको होइन, देशको राजनीतिक, प्रशासनिक, प्राज्ञिक, सांस्कृतिक, व्यावसायिक एवं समाज सेवा क्षेत्रमा नराम्रोसँग मौलाइरहेको भ्रष्ट संस्कृतिलाई चुनौती दिँदै नौलो उदाहरण प्रस्तुत गर्ने कार्य गरेको छ । हुन त समाजमा फाउन्डेसनले गरेको कार्यको सिको गर्दै आफूहरूले समेत रचनात्मक कार्य गर्नुभन्दा त्यस्तो कार्य गर्नेहरूलाई निरुत्साहित गर्न केही न केही लाञ्छना लगाउने वा त्यस्तो कार्य गर्नेहरूलाई भ्रष्टीकरणको मार्गतर्फ डोर्याउने प्रयत्न गर्नेहरू पनि कम सक्रिय छैनन् ।
यस सन्दर्भमा कतै एकजना कथित जनजाति नेताले फाउन्डेसनद्वारा निर्मित घरहरू पीडितहरूको आवश्यकता परिपूर्ति गर्न पर्याप्त नभएको भन्दै आलोचना गरेको सुन्नमा आएको थियो । जुन फाउन्डेसनको कार्यको अवमूल्यन गर्ने प्रयास मात्र हो । यस्ता प्रयास आलोचनामा मात्र सीमित रहने छैनन् । फाउन्डेसनको प्रयासलाई समाजमा अनुकरणीय हुन नदिने हेतुले धुर्मुस र सुन्तलीहरूलाई आफ्नो पार्टीको सदस्यता लिइदिन वा पार्टीमा सक्रिय भइदिन कुनै राजनीतिक पार्टीको नेताबाट प्रस्ताव गरियो भने पनि त्यसलाई अनौठो मान्नुपर्ने छैन ।
यसरी आज देशको संविधान (धारा ३७) ले प्रत्येक नागरिकलाई उपयुक्त वासस्थानको मौलिक अधिकार प्रदान गरिसक्दा पनि भूकम्पपीडित नागरिक डेढ वर्षभन्दा लामो समयदेखि उपयुक्त वासस्थानविहीन भएर बाँच्न विवश छन् । सरकार र दलहरू तिनीहरूलाई राहत वितरण गर्ने विषयमा समेत निम्नस्तरको राजनीति गरिरहेका छन् । त्यो राजनीति अरू केही नभएर संकलित राहत रकमको दुरुपयोगको लागि हो । यस्तो अवस्थामा धुर्मुस र सुन्तलीहरूले गरेका कार्य र देखाएको साहस प्रशंसनीय छ । यसले देखाउँछ- देशलाई ९-९ महिनामा फेरिने प्रधानमन्त्रीहरूको होइन, धुर्मुस र सुन्तलीहरूको खाँचो छ ।
देशमा भ्रष्ट एवं राष्ट्रघातीहरू भन्दा जिम्मेवार नागरिकहरूको संख्या ठूलो छ, यसमा कुनै शंका छैन । तिनीहरूले भ्रष्ट एवं राष्ट्रघातीहरूको फेरमा परेर अल्मलिने होइन, दृढतापूर्वक एकजुट भई राष्ट्र निर्माणको अभियानमा उत्रने आँट गरे भने धेरै योगदान दिन सक्छन् । यसो भइदिएमा देशले एउटा सकारात्मक बाटो लिनेछ ।
यस सिलसिलामा तिनीहरूले धुर्मुस र सुन्तलीहरूबाट सिक्नुपर्छ । प्रेरणा लिनुपर्छ । राष्ट्र बने हामी सबै बन्छौं, राष्ट्र बिग्रिए कोही पनि सुरक्षित रहने छैनौँ भन्ने पक्षलाई दह्रोसँग आत्मसात गर्नुपर्छ । यसरी सबै राष्ट्रप्रेमीहरू संगठित भई अगाडि बढे नेपाल र नेपालीविरोधी देशीविदेशी दुस्मनहरूको केही लाग्ने छैन । तिनका कुप्रयास विफल हुनेछन् । तिनीहरू आफैं पराजित हुनेछन् ।
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Entertainment political Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: