ads

Breaking News

News

Health

Sports

Entertainment

Videos

अमेरिकाबाट बाकसमा शव भित्रिँदैछन् नेपाल !

यस्तो लाग्छ, भिसा लाग्ने हो भने नेपालको ढुंगा माटो पनि अमेरिका जाने तयारीमा छ । महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि केहीबेर बस्यो भने त्यहाँ भिसा पाउँदा खुसीले मात्तिने र अस्वीकृत हुँदा पीडामा आत्तिनेहरुको मनोदशा सहजै बुझ्न सकिन्छ । सम्बृद्ध जीवन र उज्यालो भविष्य खोज्दै अमेरिका जाने नेपालीबाट वर्षमा करोड होइन, अरबमा नेपाली रुपैयाँ अमेरिका पलायन हुने गरेको छ । तर, सबैका सपना पूरा हुँदैनन् । कतिपय होनहार नेपाली लास बनेर नेपाल फर्किने क्रम विगतको तुलनामा बढेको छ । अमेरिकामा मृत्यु हुने नेपालीहरुको संख्याले खाडी मुलुकको झल्को दिन थालेको छ । समिराका पतिको आत्महत्यादेखि, बाकसमा कैद सपनासम्म मलाई याद छ सन् २००८ तिरको कुरा हो, अमेरिकामा अध्ययनका क्रममा रहेका आशिस भट्टराईको ग्यास स्टेसनमा काम गर्दा गर्दै एक लुटेराको गोली प्रहारबाट निधन भएको थियो । त्यो समाचारले केही टेलिभिजनमा प्राथमिकताका साथ स्थान पायो । त्यतिबेला अहिलेको भन्दा निकै कम संख्यामा नेपाली अमेरिकामा थिए । नेपालीमाथि गोली प्रहार र हत्या नौला विषय थिए । सायद त्यो घटनापछि आशिषको शव नेपाल पुग्यो पनि । तर, नेपालीको संख्या बढेसँगै अमेरिकामा मृत्युका यस्ता दुःखद खबर दिनहँुजसो आउने क्रम रोकिएको छैन । अझ यो हप्ता, र समग्रमा यो वर्ष मात्रै करिव एक दर्जन नेपालीहरुले अकल्पनीय मृत्युवरण गर्नुपरेको छ । करिव १८ महिना अगाडि टेक्सास डेन्टनकी समिरा शिवाकोटीले एक अश्वेत अमेरिकीको गोली प्रहारका कारण मृत्युवरण गर्न पुगिन् । सिवाकोटी अमेरिकामा आफ्ना परिवारका सदस्यसहित व्यापार गर्दै बसेकी थिइन् । आफ्नै व्यवसाय करिव २ वर्ष र तीन महिनाकी २ साना परीजस्ता छोरीहरु, सोचेको जस्तो उनको जीवन हेर्दा सुखद थियो । तर, सिवाकोटीलाई आफ्नै ग्यास स्टेसनमा काम गर्दागर्दै विनाकारण गोली प्रहार गरियो । सीसीटीभी फुटेजमा सिवाकोटी र ग्राहक बनेर आएका उनका हत्याराबीच कुनै बिवाद भएको पनि देखिँदैन । न त उक्त हत्या गर्ने व्यक्तिले पैसा वा सामान नै लुटेर लग्यो । तर, पनि उनको टाउको र छातीमै लाग्यो । ती तीन गोलीले उनको परिवार पूरै तहस-नहस गरिदियो । पत्नी वियोगमा जसोतसो छोरीहरुलाई रेखदेख गर्दै आएका सिवाकोटीका पतिले पीडा सहन नसकी केही महिना अगाडि मात्रै दुईजना काखे छोरीलाई टुहुरो बनाउँदै आत्महत्याको बाटो रोजे । समिराको परिवार अमेरिकामै भएको र उनका पतिका पनि सबै परिवार यतै भएकाले उनीहरुको दाहसंस्कार त अमेरिकामै गरियो, तर नेपाली समाजमा यो घटना थाहा पाउनेहरुका निम्ति अत्यन्तै पीडाको घटना बनेर रहेको छ । कुरा गत वर्षको हो, अमेरिका आएको करिव ७ महिनामात्रै भएको थियो, काठमाडौंका रुशल श्रेष्ठको । सुरुमा सागिना, मिचिगन आएका २० वर्षीय रुशल एक सेमेष्टरको पढाइ सकेर टेक्सास आएका थिए । भर्खर गाडी चलाउन सिकेका रुशल राति १० बजे साथीलाई काममा छोड्न जाँदा कहिल्यै नफर्किने गरी विदा भए । मेरै नजिक अपार्टमेन्टमा रहने रुशलको पीडामा विदेशमा रहेका थुप्रै नेपालीहरु एक भए । ०७२ साल बैशाख १२ को भूकम्पका सहयोगका निम्ति २४ घन्टामा उठेको भन्दा धेरै रकम रुशलको सहयोगका निम्ति नेपाली समाज टेक्सासको खातामा उठ्यो । नेपाली समाज टेक्सासले निकै तदारुकताका साथ उनको शवलाई नेपाल पठाउँदै संकलित रकम परिवारको सहयोगका निम्ति पठायो । त्यस बखत करिव ३३ हजार अमेरिकी डलर संकलन भएको थियो । परिवारका एक्ला छोरा रुशल बहिनीको सपना पूरा गर्नेबारे साथीहरुसँग कुरा गर्थे । अत्यन्तै मिजासिला उनको त्यो दिनको यात्रा नै अन्तिम बन्छ भन्ने कल्पना कसैलाई थिएन । रातिको समय मोवाइलमा बाटो नियाल्दै गाडी चलाएका श्रेष्ठले गल्तीले दाँया मोड्न पुगे तर त्यहाँ कुनै बाटो थिएन, पर्खालमा ठोक्किएर उनको गाडी सडकमा पछारिन पुग्यो र उनको घटनास्थलमै मृत्यु भयो । त्यो घटनामा थुप्रैका आँखा रसाए । शव पठाउन पनि हम्मे-हम्मे हुन्छ कि भनेको अवस्थामा २४ घण्टामै उठेको ३३ हजार डलरले शव त घर पठायो र केही भए पनि घरको आर्थिक बोझ त हल्का गरिदियो नै तर आफ्नो लक्काजवान छोरो शव बनेर काठको बाकसमा अमेरिकारबाट काठमाडौं आउँदा परिवारमा कस्तो हालत भयो होला ? अनुमान गर्न गाह्रो छैन । यो घटनापछि केही समय अमेरिकामा नेपालीहरु दुर्घटना परेका अन्य समाचार घटेका थिए । केही छिटफुट रुपमा अन्य तवरले मृत्युका समाचार आए पनि गत महिना नोभेम्वर ४ मा जर्जियामा भएको सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाउन पुगे । यसै हप्ता मात्र तीन छुट्टाछुट्टै दुर्घटनामा चार नेपालीको मृत्युको खबर आयो । अमेरिकाको जर्जिया राज्यको जेर्फसन काउन्टीमा भएको दुर्घटनामा ४ को मृत्यु र १ घाइते भए । दुर्घटनामा गुल्मी घर भई काठमाडौं बस्ने चिरञ्जीवी खनाल, उनकी पत्नी श्यामा, बुहारी ऋचा खनाल पन्त र खनाल दम्पतीका छोरा समिरकी प्रेमिकाले ज्यान गुमाउनुपर्‍यो । यो घटनामा छोराहरु समिर र सुवास खनाल गम्भीर घाइते भए । जेर्फसन प्रहरीले विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा घुमाउरो बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आएको गाडीले ठक्कर दिन पुगेको बताइएको छ । चालकले भित्री बाटोबाट हाइवेमा पस्ने क्रममा पछाडिबाट आइरहेको गाडीको गति मापन गर्न नसक्दा १८ चक्के ट्रकको ठक्करले दिएको थियो, जसले गर्दा गाडीको पछाडिको सीटमा रहेका सबैको मृत्यु भएको बताइएको छ । यो घटनाले नेपाली समाज फेरि पीडामा पुग्यो । कतिपयले आफन्त त, कतिले साथीका निम्ति सहयोग गुहारे । कतिपयले नचिने पनि नेपालीको नाता अनि मायाले सहयोग जुटाए त कतिले आँशु बगाए । त्यस्तै नोभेम्वर १६ को दिन नेपालमा रहेकी कल्पना कार्कीलाई पीडा बनेर आयो । एउटा अकल्पनीय समाचार जसमा भनिएको थियो, करिव ८ हजार माइल टाढाबाट, २० वर्षीया छोरी निशाको हृदयघातबाट निधन भयो । यो खबर कल्पनाका लागि जीवनकै सबैभन्दा नराम्रो दिन बनेर आयो । ११ महिना अघि निशालाई बाई भनेर नेपालबाट बिदा गरिदिएकी कल्पना एकल महिला थिइन् । उनले जसोतसो गरेर छोरीलाई हुर्काइन् अमेरिकाजस्तो देशमा पढ्न पठाइन् । अब छोरीले पढ्लिन् र सुखका दिन आउला भनेर कल्पनामा बसेकी कल्पना अहिले मर्माहत भएकी छिन् । ओकलाहमा राज्यमा कलेजमा काम गर्दागर्दै ढलेकी निशाको उपचारका क्रममा मृत्यु भयो । जसरी पनि छोरीको शव हेर्ने कल्पनाको पुकार अमेरिका र अन्य देशमा रहेका सहयोगीको सहयोगबाट पूरा भयो । यस घटनामा पनि नेपाली समाज टेक्सासले अभिभावकत्वको भूमिका निर्वाह गर्दै करिव ३० हजार अमेरिकी डलर सहयोग संकलन गर्न सफल भयो । यो रकमले निशाको शव नेपाल पुग्यो र उनको अमेरिकासम्मको यात्रामा लागेको ऋण तिर्न कल्पनालाई केही सहयोग पक्कै गर्‍यो । तर, यसले उनको वियोगको घाउ पुरिने कुरै भएन । निशाको शव नेपाल पुगेको एक महिना नवित्दै अमेरिकाको वाशिंगटन राज्यमा भएको सवारी दुर्घटनामा २० वर्षीया नेपाली मूलकी छात्रा ममता कँडेलको मृत्यु भयो भने सुमित शाही र बिकास सिग्देल घाइते हुन पुगे । अहिले घाइते सबैको उपचार र ममताको शव नेपाल पठाउन सहयोग संकलन हुँदैछ । सडकमा जमेको हिऊँमा गाडी चिप्लिएकाले सवारी दुर्घटना भएको बुझिएको छ । नेपाल जान लागेका सुमित शाहीलाई विमानस्थल छोड्न जाने क्रममा भएको दुर्घटनामा ममताको निधन भएको थियो । ममता आफैं पनि डिसेम्बर २१ मा नेपाल फर्किने तयारीमा थिइन् । त्यस्तै सोही दिन नै फ्लोरिडामा भएको अर्काे सडक दुर्घटनामा २० वर्षीया अश्लेषा पण्डितको निधन हुन पुग्यो । घटनामा श्रद्धा सिंह ठकुरी घाइते भइन् । अलबामा ट्रोय विश्वविद्यालयमा अध्ययनरत यी विद्यार्थीहरु परीक्षा सकेर फ्लोरिडा घुम्न गएका बेला सवारी दुर्घटनामा परेका हुन् । सडकमा बलेको रातो बत्तीमा सवारी नरोकी अगाडि बढेका उनीहरुको गाडी दुर्घटनामा परेको हो । उता डिसेम्बर १९ तारिखमा क्यालिफोर्नियाको स्यान डियागोमा नेपाली चेली सरिता शाक्यको सवारी दुर्घटनामा निधन भयो । मदिरा सेवन गरेर हाँकिएको अर्काे गाडीले शाक्यको गाडीलाई ठक्कर दिएको थियो । सरिता करिव १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । कुनै आफ्नै गल्तीले, कुनै अरुको गल्तीले यी सबै दुर्घटना अकल्पनीय हुन् । सामान्य त हो भन्ने लापरवाहीले होस् वा नयाँ ठाउँको सडक र मौसमको भेउ नपाउँदा होस्, यस्ता दुर्घटनाले धेरै नेपालीहरुको ज्यानै लिने गरेको छ । नयाँ गाडी, युवा जोश अनि साथीसंगीका साथ तीव्र गतिमा हुइँकिने गाडीहरु पनि दुर्घटनाका कारण हुन् । कतिपय अवस्थामा आफ्नै कारणले त कहिले अर्काको लापरवाहीले लिने ज्यानको कुनै मूल्य छैन, भलै यी शवहरु नेपाल पुर्‍याउन ठूलो रकम र मेहनत त लाग्छ नै । केही समययता नेपालीको संख्या बढेसँगै यस्ता खबर पनि पक्कै बढेका छन् । नेपालमा बिगि्रएको आफ्नो सन्तान विदेश गए सुधि्रन्छ कि भन्ने सोचले थूप्रै आमाबुवाले थप पीडा भोगेका छन् । माथिका घटनामा कसैको प्रवृतिमाथि प्रश्न उठाइएको भने होइन । तर, विदेशमा पुग्दा र टेक्दासम्म पनि आफ्नो प्रवृतिमा परिवर्तन नगर्ने थुप्रैको बानीले पनि परिवारमा पीडा पक्कै दिएको छ । अमेरिकामा करिव १२ देखि १५ घण्टाको काम, युवा जोस र भोको पेट आफैमा मानिसको निम्ति कुनै दुर्घटनाको कारण बन्न पर्याप्त छन् । एकपछि अर्को दुर्घटनाले नेपाली समाज पीडामा पर्छ । अमेरिकाबाट कसैले १० डलर त कसैले १०० वा बढी नै सहयोग संकलन गर्दै शव नेपाल फिर्ता पनि पठाउँछन् तर त्यो शवसँगै चुँडिएका सपना अनि कतिपयको आशाको त्यान्द्रो रहेका बालबच्चामा त्यसरी पुग्नुको चोट वर्णन गर्न कुनै शव्दले पुग्दैन । सवारी अनुमतिविना सवारी चलाउने, विमा नगरी चलाइने गाडीहरु पछिल्लो समय नेपाली समाजमा थुप्रै छन् । फजुल काममा खर्चिने रकम पक्कै पनि यस्ता उपयोगी काममा खर्चिन कसैले हिच्किचाउनु हुँदैन । यसका लागि परिवारको पनि खबरदारी आवश्यक पक्कै रहन्छ । आफ्ना सन्तानलाई विदेशमै रहे पनि परिवारका लागि उसको जिम्मा र परिवारको चिन्ता स्पष्ट रुपमा जानकारी गराउनु पनि अति आवश्यक छ । नत्र काठको बाकसमा शव नेपाल भित्रिइरहनेछ यसैगरी । अरुलाई सहयोग माग्दैछु, कुन दिन मेरै माग्नुपर्ने हो म अमेरिका आएको करिव दुई वर्ष पुग्न लाग्यो । अमेरिका नआउँदै पनि विश्वका विभिन्न मुलुकबाट करिव तीनवटा शव दैनिक नेपाल भित्रिन्छन् भन्दै समाचार बनाइने गरिन्थ्यो । नेपालबाट विभिन्न सपना अनि बाध्यताले विदेश भित्रनेहरु त्यसरी काठको बाकसमा नेपाल भित्रिँदा पक्कै पनि परिवारमा बज्रपात नै हुन्थ्यो । कतिपयको सर्वस्व नै सकिन्थ्यो । अलिअलि पलाएको आशा पनि निराशामा परिवर्तन त हुन्थ्यो नै, परिवारको सदस्य नै गुमाउँदाको पीडाले परिवारको जमीन हल्लाइदिन्थ्यो । कतिपयको खाडल कहिल्यै नपुरिने गरी भासिन्थ्यो । नेपालमा हुँदा समाचार मात्रै बनाएको म अमेरिका छिरेलगत्तै फरक परिवेशमा पुगेँ । केवल समाचार बनाउने म यहाँ आएपछि सहयोग संकलनका निम्ति प्रचार गर्नतिर लाग्नुपर्‍यो । विश्वका विभिन्न कुनामा रहेका साथीहरुलाई भन्नुपर्ने भयो, लौन फलानाको मृत्यु भएछ, शव नेपाल पठाउन सहयोग संकलन गरिदिनुपर्‍यो । अरु नसके पनि समाचार मात्रै बनाएर नै भए पनि एक नेपालीको शव उसको परिवारका अगाडि पुर्‍याइदिनुपर्‍यो । परदेशी भूमिमा मेरो निम्ति मात्रै होइन, हजारौं नेपालीका अगाडि यस्तो अवस्था आउने गरेको छ, आइरहेको छ । र, पक्का हो, आइरहनेछ । अहिले अरुको निम्ति सहयोग मागिएको छ, कहिले आफ्नै निम्ति अरुले सहयोग माग्नुपर्ने हो, ठेगान छैन ।

ढुक्क हुनुहोस् ! जलविद्युत् कम्पनीको सेयर सरकारलाई जाँदैन, आयोजनामात्रै सरकारले लिने |

६ पुस, काठमाडौं । जलविद्युत् कम्पनीमा लगानी गर्ने धेरैलाई अहिले पनि आयोजनाको सञ्चालन अवधि सकिएपछि के हुने हो भन्ने चिन्ताले बेला-बेला सताउने गरेको पाइन्छ । न त मन्त्रालयबाट हालसम्म यसमा स्पष्ट धारणाहरु आए, न त कसैले बुझाउने प्रयत्न गरे । तर, ढुक्क हुनुहोस् ! सञ्चालन अनुमती अवधि समाप्तपछि सरकारले जलविद्युत् आयोजनामात्र आफूले लिएर चलाउने तर लगानी गर्ने कम्पनीको सेयर अधिग्रहण नगर्ने स्पष्ट पारेको छ । ‘जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी स्थापना गरिएको हुन्छ, सरकारले त्यो कम्पनी लिने होइन, उसले सञ्चालन गरेको आयोजना मात्र लिने हो,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले भने । सरकारले यो नीति अहिलेदेखि नै सार्वजनिक गरेकाले लगानीकर्ताहरुले यसलाई नजरअन्दाज गर्न भने नमिल्ने तर्क पन्तको छ । ‘अर्को आयोजना नहुने कम्पनीको पहिलो आयोजना पनि सरकारको स्वामित्वमा आउदा भोलि सेयर मूल्य त्योभन्दा अघि जस्तै नरहला, तर सरकारले लिने अवधि चाँडै आउँदैन, ३०-३५ वर्षमा लगानी उठ्ने अवस्था बन्न सक्छ,’ पन्तको तर्क छ । एउटा आयोजनामात्र हुने त्यस्ता कम्पनीको पनि सेयर बजारमा कारोबार हुन्छ । यस्तो अवस्थामा भने अन्तिम लगानीकर्तालाई नोक्सान हुनसक्छ । तर पन्त भन्छन्, ‘यसबारेमा सरकारले अहिले नै जानकारी गराइसकेको छ, त्यसैले सेयरमा लगानी गर्दा कम्पनीहरुको अवस्था बुझेर गर्नुपर्छ ।’ अर्को आयोजना नहुने कम्पनीका लगानीकर्ताको पनि लगानी शून्य नै भने नहुन सक्छ । कम्पनीहरुले सञ्चालन गर्ने आयोजना सरकारले लिँदा भौतिक पूर्वाधारहरु सरकारको स्वामित्वमा जाने हो । तर कम्पनीको सञ्चितीमा रहेको रकम, कम्पनीले असामीबाट उठाउन बाँकी रकम, बैंकमा राखेको निक्षेप, अन्य क्षेत्रमा लगानी गरेको भए सो लगानी, आयोजनासम्बन्धी बाहेकका अन्य भौतिक सम्पत्ति (कर्पोरेट अफिस, जग्गा लगायत) कम्पनी र त्यसका लगानीकर्ताको नै हुन्छ । थप नयाँ आयोजना बनाउने निर्णय गरेन र कम्पनी खारेज भयो भनेपनि लगानीकर्ताको यस्ता सम्पत्तिमा हिस्सेदारी रहन्छ । तर यसमा लगानीकर्ता सचेत हुनुपर्ने अवस्था भने रहन्छ । कम्पनी त्यो समय घाटामा देखियो र बाँकी स्रोतले पनि त्यो घाटा परिपूर्ती हुने अवस्था रहेन भने चाँही लगानी शून्य हुनसक्छ । तर, अर्को जलविद्युत् आयोजना बिकास गरेका वा अन्यबाट प्रवर्द्धित आयोजनामा लगानी गरेका कम्पनीहरुबाट भने लगानीकर्ताले केही बढी लाभ पाउने अवस्था रहन सक्छ । हाल सबैभन्दा चाँडो सञ्चालन अनुमति खारेज हुनेमा माथिल्लो भोटेकोशी आयोजना रहेको छ । यो आयोजनाले ०९३ कात्तिक ३० गतेसम्म सञ्चालन अनुमति पाएको छ । यद्यपी कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको छैन । सेयर बजारमा सूचीकृतमध्ये चिलिमे जलविद्युत् आयोजना र नेशनल हाइड्रोपावर लिमिटेड कम्पनीको इन्द्रावती ३ आयोजनाको सञ्चालन अनुमति अन्य सूचीकृत कम्पनीकोभन्दा पहिले खारेज हुनेछ । यी दुवैको सञ्चालन अनुमति विक्रम संवत् २१०४ को मध्यसम्म रहेको छ ।

मरुभूमिमा यसरी गरिन्छ पानीको खेती |

पानी बिना जीवनको अस्तित्व असम्भव छ भन्ने कुरा हामीलाई थाहा छ र महसुस पनि गर्न सकिन्छ । बाँच्नका लागि जसरी भए पनि पानीको जोहो गर्नैपर्ने हुन्छ । पिउने पानीको जोहो गर्ने सिलसिलामा मोरक्कोले आफ्नो देशका मरुभूमिमा पानीको अनौठो खेती सुरु गरेको छ । त्यहाँको मरुभूमिमा पानी उत्पादन गर्नका लागि हावामा रहेको ओसलाई जम्मा गर्ने अनौठो प्रविधिको प्रयोग भइरहेको छ । यो प्रविधिबाट उत्पादन गरिएको पानीले ५ गाउँका ४ सय मानिसहरुलई पानीको आपूर्ती भैरहेको छ । सुख्खा तथा खाली मरुभूमिका खुला ठाउँहरुमा फग क्याचर अर्थात् हुस्सु समात्नेवाला जाल हालिएको छ । उक्त जाल अत्याधुनिक हो । त्यसमा रहेको प्रविधिले हुस्सु तथा हावामा रहेको ओसिलोपनाबाट पानी छुट्टाएर जम्मा गर्दछ । यसरी निकालिएको पानीले केवल गाउँलेहरुको घाँटी रुझेको मात्र छैन, मरुभूमिमा समेत पानी पोखिनाले रुखबिरुवा उमि्रन थालेका छन् ।

अमेरिकी निर्वाचनमा रूसी संलग्नता रहेको ह्वाइट हाउसको दावी

अमेरिकी राष्ट्रपति भबन ह्वाइट हाउसका प्रेस सचिव जोश आर्नेष्टले अमेरिकामा डोनाल्ड ट्रम्पलाई जिताउन रूसीकोे संलग्नता रहेको दावी गरेका छन्। ‘यो विषयमा ह्वाइट हाउसँग प्रसस्त सुचनाहरु आइसकेका छन्। अक्टुवरभन्दा अगाडी देखि नै रूस डोनाल्डलाई जिताउने अभियानमा लगेको थियो।’ पत्रकारहरुसँग कुराकानी गर्दै आर्नेष्टले अगाडी बताए–‘डोनाल्ड ट्रम्पले प्रतिपक्ष उम्मेदवार हिलारी क्ल्निटनका इमेलहरु ह्याक गर्न लगाएका थिए।’ निर्वाचिन डोनाल्ड ट्रम्पले आर्नेष्टलको भनाइलाइ प्रतिबाद गर्दै बताएका छन् –‘यो कुरा ह्वाइट हाउसलाई पहिल्यै थाहाँ थियो भने, अहिले किन हिलारीको पराजयपछि मात्र सार्वजानिक गर्न खोज्दैछ?’ अमेरिका भित्रका इन्टेलीजेन्सी सँस्था सिआइएले बताए अनुसार हिलारीलाई पराजीत गराउन रूसी लागेको थियो। तर, सिआइएको उक्त भनाइ गलत भएको बताउदै एफबिआइले निर्वाचनमा कुनै ह्याक नभएको बताएको छ। रसियन सरकारी अधिकारीहरुले समेत अमेरिकी निर्वाचनमा रसियाकाे कुनै भुमिका नभएकाे दावी गर्दै अाइरहेका छन्।

कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

३० मंसिर, काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार बोर्डले ११ कक्षामा १ विषयमा अनुत्तीर्ण भएका परीक्षार्लाथीको माघ ८ गते मौका परीक्षाको लिने छ । परीक्षाको नतिजा बोर्डको वेबसाइट neb.ntc.net.np मा हेर्न सकिन्छ ।

नुहाउदै गरेको बेला |

बच्चा पाउनुको खुसी केवल एक वर्षका लागि मात्र !

बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने बच्चा पाउँदैमा मानिस सधैंभरीलाई खुसी नहुनेे देखाएको छ । अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बच्चा पाएपछिको अभिभावकत्वको खुसी केवल १२ महिना मात्र टिक्दछ । तर त्यो समयपछि वस्तुपरक सुखद जिवनयापनमा कुनै सुधार हुँदैन । लण्डनमा आयोजित एक सम्मेलनमा पेश गरिएको रिपोर्टमा शोधकर्ता एन्ड्रीयु क्लार्कले भनेका छन्, ‘बच्चा पाउनुले मानिसको सुखद जिवनयापनमा प्रणालीबद्ध रुपमा ठूलो प्रभाव पार्ने तथ्य हामीले फेला पारेनौं ।’ तर जिवनमा जिवनसाथी हुनुले भने मानिसको सुखद जिवनयापनमा ठूलो प्रभाव पार्दछ । पार्टनर हुनुको सकारात्मक प्रभाव समयक्रमसँगै घट्ने भन्ने हुँदैन जिवनपर्यन्त रहन्छ । तर बच्चा हुनुको हकमा भने यो लागू हुँदैन । बच्चा पाउने कुराको कल्पना गर्नु, परिवारमा बच्चा भएमा जिवन निकै खुसीपूर्ण हुने कुराको कल्पना गर्नु राम्रो हो । तर बच्चा हुनुको मज्जा भने केवल १२ महिनासम्म मात्र कायम रहन्छ । तर शोधकर्ताहरुले बच्चा जन्मिएको सुरुको ४ वर्षको अध्ययन गरेर मात्र यो निष्कर्ष निकालेको हुनाले त्यसपछिका वर्षहरुमा परिवारमा जन्मिएका बच्चाहरुले अभिभावकको सुखद जिवनमा पार्ने प्रभावको अझै अध्ययन हुनु आवश्यक रहेको बताइएको छ । आफ्नो सन्तान हुनु दीर्घकालमा अझ बुढेसकालमा अभिभावकका लागि निकै फलदायी हुनसक्ने तर्फ शोधकर्ताहले आशा व्यक्त गरेका छन् ।बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने बच्चा पाउँदैमा मानिस सधैंभरीलाई खुसी नहुनेे देखाएको छ । अमेरिका, बेलायत, जर्मनी र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बच्चा पाएपछिको अभिभावकत्वको खुसी केवल १२ महिना मात्र टिक्दछ । तर त्यो समयपछि वस्तुपरक सुखद जिवनयापनमा कुनै सुधार हुँदैन । लण्डनमा आयोजित एक सम्मेलनमा पेश गरिएको रिपोर्टमा शोधकर्ता एन्ड्रीयु क्लार्कले भनेका छन्, ‘बच्चा पाउनुले मानिसको सुखद जिवनयापनमा प्रणालीबद्ध रुपमा ठूलो प्रभाव पार्ने तथ्य हामीले फेला पारेनौं ।’ तर जिवनमा जिवनसाथी हुनुले भने मानिसको सुखद जिवनयापनमा ठूलो प्रभाव पार्दछ । पार्टनर हुनुको सकारात्मक प्रभाव समयक्रमसँगै घट्ने भन्ने हुँदैन जिवनपर्यन्त रहन्छ । तर बच्चा हुनुको हकमा भने यो लागू हुँदैन । बच्चा पाउने कुराको कल्पना गर्नु, परिवारमा बच्चा भएमा जिवन निकै खुसीपूर्ण हुने कुराको कल्पना गर्नु राम्रो हो । तर बच्चा हुनुको मज्जा भने केवल १२ महिनासम्म मात्र कायम रहन्छ । तर शोधकर्ताहरुले बच्चा जन्मिएको सुरुको ४ वर्षको अध्ययन गरेर मात्र यो निष्कर्ष निकालेको हुनाले त्यसपछिका वर्षहरुमा परिवारमा जन्मिएका बच्चाहरुले अभिभावकको सुखद जिवनमा पार्ने प्रभावको अझै अध्ययन हुनु आवश्यक रहेको बताइएको छ । आफ्नो सन्तान हुनु दीर्घकालमा अझ बुढेसकालमा अभिभावकका लागि निकै फलदायी हुनसक्ने तर्फ शोधकर्ताहले आशा व्यक्त गरेका छन् ।


Top