Breaking News

News

Health

Sports

Entertainment

Videos

चेल्सीसँग हार्‍यो म्यानचेष्टर सिटी, एग्युरोले पाए रातो कार्ड

१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिको दाबेदार म्यानचेष्टर सिटीमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा एन्टोनिओ कोन्टेको चेल्सीले पेप ग्वार्डिाओलाको सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । यो जितसँगै चेल्सीले लिगमा ४ अंकको अग्रता लिएको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले उपहार गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा ग्यारी काहिलले आफ्नै पोष्टमा गोल गरे । तर, दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्‍यो । ६० औं मिनेटमा डिएगो कोष्टले बराबरी गोल फर्काए । ७० औं मिनेटमा चेल्सीले काउन्टरमा गोल गर्‍यो । विलियनले उत्कृष्ट गोल गरे । खेलको निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा काउन्टरमै इडेन हजार्डले गोल गर्दै जित सुनिश्चित गरे । यो लिगमा हजार्डको आठौं गोल हो भने चेल्सीको लगातार आठौं जित । खेलको अतिरिक्त समय केही तनावपूर्ण भयो र, सिटीका खेलाडीहरुले अनुशासन कायम राख्न नसक्दा दुई खेलाडीले रातो कार्ड पाए । स्ट्राइकर सर्जिओ एग्युरोले डेभिड लुइसलाई फल गरे । त्यही विवादमा फर्नान्डिहोले सेस फेबि्रगासको घाँटी अठ्याउन पुगे र, दुबैले रातो कार्ड पााएर मैदान छाड्नु पर्‍यो । जितसँगै चेल्सी १३ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा रहेको सिटीको ३० अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।

विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला ननिता


अढाइ महिनाअघि पहिलोपल्ट महिला बडीबिल्डिङ स्पर्धा हुँदा काठमाडौंको राष्ट्रिय नाचघर दर्शकहरूले खचाखच भरिएको थियो। यति हुँदा पनि प्रतियोगिताकी एक स्पर्धी ननिता महर्जन भने आफ्नो परिवारको सदस्यलाई दर्शकदीर्घामा खोजिरहेकी थिइन्। कारण थियो, यो स्पर्धामा भाग लिन जानुअघि प्रतियोगितामा महिला खेलाडीले लगाउने लुगा उनको परिवारलाई त्यति चित्त बुझेको थिएन। बडिबिल्डिङ स्पर्धामा महिला खेलाडीको ‘ड्रेस कोड’ नै हुन्छ, ‘टु पिस’ लुगा। स्पर्धा अगाडि ननिताकी आमा मात्र होइन, दाजु पनि आफ्नी बहिनीलाई ‘टु पिस’ मा कसरी हेर्ने भन्ने असमञ्जसमा थिए। तर, अन्तिम समय आफ्नो छोरीको गठिलो शरीर हेर्न उनकी आमा मात्र होइन, दाजु पनि प्रतियोगिता स्थल पुगे। अझ उनले ६ प्रतिस्पर्धीलाई उछिनेर महिलातर्फको उपाधि जितेपछि घरपरिवारका सबै सदस्य स्टेजमाथि नै चढे, उनलाई सफलताको बधाई दिन। अढाइ महिनाअघि नेपाली समाजमा बिद्यमान रुढीवादी सोचलाई चुनौती दिएकी ३१ वर्षीय ननिता अब अर्को उचाइ चुम्न लालायित छिन्। उनी देशको पहिलो महिला बडीबिल्डरका रुपमा मंगलबारदेखि थाइल्यान्डको पतायामा हुन लागेको विश्व बडीबिल्डिङ च्याम्पियन्सिपमा सहभागी हुँदैछिन्। यसका लागि उनले ठूलै तपस्या गरेकी छन्। आफ्नो शरीरलाई ‘मस्कुलर’ बनाउन दुई महिनादेखि उनी नुन पनि नखाई दैनिक ६ घन्टा जीम हलमा आफूभन्दा धेरै तौल उठाउन व्यस्त छिन्। उनको मेहनत देखेर प्रशिक्षक रुजेश शाही दंग छन्। ‘पुरुषहरूको वर्चश्व भएको बडीबिल्डरमा ननिताजस्तो लगनशील महिला खेलाडीलाई भेटाउँदा खुसी लाग्छ,’ ननिताका प्रशिक्षक शाही भन्छन्। शाही गत वर्ष बैंककमा भएको यही प्रतियोगिताको अघिल्लो संस्करणमा ५५ केजी तौल समूहमा उपविजेता बनेका थिए। नेपाली बडीबिल्डङ इतिहासमा उनी यो उपलब्धी चुम्ने पहिलो पुरुष खेलाडी हुन्। ५ फिट ५ इन्च अग्ली ननिता थाइल्यान्डमा महिला मोडल फिजिक्स समूहमा भाग लिँदैछिन्। विश्वका ५९ राष्ट्रले भाग लिन लागेको यो प्रतियोगिताको आफ्नो स्पर्धामा उनी उत्कृष्ट ५ भित्र प्रवेश गर्ने सम्भावना प्रबल छ। त्यसैले उनलाई अहिले प्रशिक्षक शाहीले ‘स्टेज पफर्मेन्स’ मा विशेष ध्यान दिन आग्रह गरिरहेका छन्। बडीबिल्डिङ स्पर्धामा शरीर राम्रो भएपनि प्रतिस्पर्धामा गर्ने ‘स्टेज पफर्मेन्स’ ले ठूलो अर्थ राख्ने गरेको छ। ननिताको सबैभन्दा बलियो पक्ष भनेको ढाड, पेट र काँध हो। उनको ढाड (ब्याक पार्ट) पुरुष बडिबिल्डरभन्दा कम छैन। पेट (एब्डोमिनल) पनि उत्कृष्ट छ। उनले यही स्पर्धाका लागि आफूले इच्छ्याएको खाना पनि खाएकी छैनन्। ‘मसल्स’ मा पर्ने असरका कारण बडीबिल्डरहरूले प्रतियोगिता आयोजना हुनुभन्दा डेढदेखि तीन महिनाअघिबाट घरमा खाने खाना, गुलियो, अमिलो, पिरो र जंकफुड सबै त्याग गर्नुपर्छ। त्यसैले उनी भन्छिन्, ‘विश्व च्याम्पियनसिप खेलेर फर्किएपछि भोज खाने ठूलो रहर छ।’ ननिताको बडीबिल्डर बन्ने कहानी रोचक छ। उनी स्कुले जीवनमा बास्केटबल र भलिबल खुब खेल्थिन्। उनी कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भलिबलतर्फको कप्तान नै थिइन्। तर, जनमैत्री बहुमुखी क्याम्पस भर्ना भएपछि उनी खेलकुदबाट विस्तारै निस्क्रिय भइन्। क्याम्पस पढ्दै गर्दा उनको ९ वर्षअघि प्रेम विवाह भयो। बिहे गरेको दुई वर्षमा छोराको पनि जन्म भयो। यतिबेला उनको तौल अस्वभाविक रुपमा बढेर ७१ केजी पुग्यो। बढ्दो तौल घटाउन उनले बीचका केही वर्ष योगाको पनि सहारा लिइन्। तर, सफलता हात नलागेपछि एरोबिक्स र जुम्बा ‘ज्वाइन’ गरिन्। यसबाट पनि फाइदा नभएपछि श्रीमानको सल्लाहले जीममा संलग्न भइन्। कालिमाटीस्थित डिभाइन जिममा तौल घटाउने क्रममा उनको शरीरको विशेषता बुझेपछि प्रशिक्षक शाहीले उनलाई व्यवसायिक खेलाडीझैं शरीर बनाउन हौसाएका थिए। तीन वर्षअघि आफ्नो तौल घटाउन जिमहल पुगेकी उनै ननिता विश्व बडीबिल्डङ च्याम्पियनसिपमा भाग लिने पहिलो नेपाली महिलाको पहिचान बनाउँदै छिन्। ‘मेरो लागि गौरवको कुरा हो,’ हाल आफ्नो तौललाई ५५ केजीमा झारिसकेकी ननिता भन्छिन्, ‘यसका लागि लगाव, अनुशासन र निरन्तरता चाहिन्छ।’ ननितालाई महिला बडीबिल्डर बन्न उनको परिवारले निकै सघाएका थिए। विशेषत: उनकी सासूले आफ्नी बुहारीलाई खेलाडी बन्न कुनै कसर बाँकी राखिनन्। जिम गरेपछि विश्राम त्यति नै मात्रामा लिनुपर्छ। ‘मेरो सासूदेखि पूरै परिवारले ७ वर्षको छोराको राम्रोसँग रेखदेख नगर्ने हो र ट्रेनिङपछि थाकेर आएको शरीरलाई विश्रामदेखि खानपानमा विशेष ध्यान नदिने हो भने म बडिबिल्डर नै बन्न सक्दिनथेँ। त्यसैले अहिले म जुन अवस्थामा छु त्यसको श्रेय उहाँहरू तथा मेरो ट्रेनर गुरुलाई जान्छ,’ उनी भन्छिन्। ननिताको प्रतिस्पर्धा हेर्न उनको पूरै परिवार उनीसँगै मंगलबार थाइल्यान्ड उड्दैछ। यस्तै, उनको माइततर्फको परिवार पनि उतै जाँदैछन्। ननिताका श्रीमान रुदन बज्राचार्य आफ्नो श्रीमतिको सफलताबाट यतिबेला निकै खुसी छन्। रुदन पनि केही वर्षदेखि जिम गरिरहेका छन्। तर, प्रतिस्पर्धामा श्रीमतिले आफूलाई उछिनेकोमा उनी दंग नै छन्। ‘यतिसम्म जान्छिन् भन्ने थिएन। तर, उनले आफूलाई प्रमाणित गरिन्। खुसी लागेको छ,’ रुदन भन्छन्। ननिता विश्व बडीबिल्डङ च्याम्पियनसिप आफ्नो अन्तिम प्रतियोगिता नभएको बताउँछिन्। उनी यो आफ्नो करिअरको सुरुवात भएको बताउँदै भन्छिन्, ‘म अन्य महिला दिदी–बहिनीलाई पनि शारीरिक सुगठनमा लाग्न आग्रह गर्छु। यसका लागि मैले गर्ने योगदान सधैं रहन्छ।’

रुपन्देहीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुने

९ मंसिर, भैरहवा । रुपन्देहीको धकधई क्षेत्रमा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । लोपोन्मुख हुँदै गइरहेको कुस्ती खेलको संरक्षण गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक बजरंग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए । मंसिर २६ विरहा र २७ देखि २९ गतेसम्म कुस्ती सञ्चालन हुने प्रतियोगिता खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका पहलवानहरको सहभागीता रहने आयोजकले जनाएको छ । नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहसहित २ सय २६ जना पहलवानले भाग लिनेछन् । प्रतियोगितामा उत्कृष्ट हुनेले मोटरसाइकल पाउनेछन् भने प्रथम पुरस्कार ५० हजार १ सय, द्वितीय पुरस्कार एलसिडी टि.भी छ । स्थानीय लोक संस्कृतिको बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने समितीका अध्यक्ष धवलले बताए ।

paragliding in pokhara

नेपाल–जापानबीच मैत्रीपूर्ण खेल शनिबार

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन्। तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेलेका थिए। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोली दबाबका बीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताए। उनले भने, “हाम्रो टोलीका केही खेलाडी घाइते भए पनि हामी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छौंँ । हामीले विदेशमा भर्खरै उपाधि जितेका छौं, देशमा खेल्दा पनि त्यही दोहो¥याउने छौं ।” टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका खेलाडी काजुयुकीले आफूहरु जित्नका लागि नेपाल आएको बताउँदै भने, “मैले भर्खरै सम्पन्न सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाई र लाओससँग खेलेको खेल हेरेंँ । त्यसैले उनीहरु (नेपाल)सँग आमनेसामने हुँन हामीले राम्रो तयारी गरेका छौंँ ।” उनले वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको बताए। नेपाली टोलीका कप्तान अनिल गुरुङले थकानका बीच पनि आफ्नो टोली जापानी टोलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए|सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे खेल सुरु हुनेछ। रासस

च्याम्पियन नेपाली टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने

सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । मंगलबार साँझ नै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका छन् । स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिन भनेका छन् । जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था गरिने बताएका छन् ।

फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पायो

२७ कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ । नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा पुगेको छ । र, अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५-४ ले हराएको छ । यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो । ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

कार्तिक मसान्तसम्म प्रतिवेदन बुझाउने सिमा निर्धारण आयोगको तयारी

काठमाडौं– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्तक्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले कात्र्तिक मसान्तसम्ममा आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनका आयो भने स्थानीय तहको चुनावका लागि बाटो खुला हुन्छ । यसकारण यो आयोगको प्रतिवेदनलाई महत्वका साथ हेरिएको छ ।

सोमबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष बालानन्द पौडेलले जिल्लास्तरिय प्राविधिक समितिले प्रतिवेदन बुझाएलगत्तै ढिलोमा मंसिरको पहिलो हप्ताभित्र प्रतिवेदन बुझाउने जानकरी दिए ।

उनले अधिकाश जिल्लामा प्राविधिक समितिले सरोकारवालाहरुसँग छलफल गरेर प्रतिवेदन तयार पारिरहेकाले केही दिनमै आयोगमा आइपुग्ने विस्वास व्यक्त गरे । उनले आयोगको मापदण्ड अनुसार जिल्ला तहबाट प्रतिवेदन नआए आयोगले आफैं प्रतिवेदन तयार पार्ने स्पष्ट पारे ।

हिमाली र पहाडी जिल्लाहरुमा प्रतिवेदन तयार पार्ने कम जारी रहेपनि तराइका जिल्लाहरुमा भने मधेसवादी दलहरुले अवरोध गरेको आयोगले जनाएको छ । अध्यक्ष पौडेलले मधेस केन्द्रित दलहरुको माग पूरा गर्न पनि स्थानिय तहको सीमा निर्धारण गर्न जरुरी रहेको बताए । उनले मधेसी मोर्चाका मागसमेत समेटेर आयोगले प्रतिवेदन तयार पार्न चाहेकाले आयोगलाई सहयोग गर्न आग्रह गरे ।

सरकारले यसअघि सरकारले तोकेको ५ सय ६७ गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गरेर प्रतिवेदन बुझाउन अन्तिम तयारी गरेका बेला संख्या बढाएर ७ सय ४४ पुर्याएपछि आयोगले फेरि सिमा हेरफेर गरेर प्रतिवेदन पेश गर्न जिल्लास्तरिय प्राविधिक समितिले काम गरीरहेको आयोगले जनाएको छ । नयाँ मापदण्ड अनुसार प्रतिवेदन तयार पार्न सरोकारवालाहरुको सुझाव समेटेर प्राविधिक समितिलाई निर्देशन दिएको पौडेलले जानकारी दिए ।

आयोगलाई जनसंख्या, जनघनत्व, घरबाट सेवा केन्द्रमा पुगेर पुनः घर फर्किन लाग्ने अधिकतम समय, राजस्वका आन्तरिक स्रोत, जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक सुगमताका आधारमा स्थानीय तहको सिमाना निर्धारण गर्ने अधिकार तोकिएको छ ।

Top