तरकारीवाली कुसुम
एउटा शिक्षकको तर्फबाट विद्यार्थीको रुपमा यो पत्र लेखिरहेको छु ।
सामाजिक सञ्जाल फेसबुकबाट आम सञ्चार माध्यममा तिम्रो नाम र अनुहार प्रकाशित भएपछि तिम्रोबारेमा मैले पनि केही सोच्न थालेँ । धेरै अनलाइन खबरहरुमा तिमीलाई फिल्म खेल्ने अवसर र तिमीले अवसर पाए मोडल बन्ने कुरा गरेपछि अझ धेरै सोचेँ । केही दिन अघि यो धर्तिको कुन कुनामा छे भन्ने कुसुम एकाएक चर्चामा आएपछि तिमीमा एकाएका विचार बदलिएको हुन सक्छ । वा कसैले तिमीलाई उचालिरहेका पनि हुन सक्छन् ।
तिमी आफैं सोच तिमी जस्तो डोकोमा तरकारी बोकेर बजार पुर्याउने कति नेपाली किसानका छोरीहरु छन् । तर सिङ्गो देशकी एउटै तरकारीवाली भएकी छ्यौ तिमी । किन ?जवाफ खोज आफैँ भित्र ।
तिमी नायिका भइसकेकी छ्यौ ।
तिमी आफ्नो जुन पहिचानले चर्चामा आयौ त्यो पहिचान तिमी जे थियौ त्यही नै थियौ । धेरैले धेरै प्रकारले बुझेका हुन सक्छन् । कसैले तिम्रो अनुहार हेरेर यति राम्री केटीले पनि तरकारीको डोको बोक्ने रहिछ भने होलान् कतिले नर्सिङ कलेज पढ्ने केटीले तरकारी बोकेकी यसले जस्तो अभिनय पनि गर्न सक्छे भने होलान् । क्यामरावाला रुपचन्द्रले खै के भनेर तिम्रो फोटो खिचे उनैले जानुन् ।
क्यामरा भित्रको तिम्रो तस्वीर एउटा तरकारीवाला केटीको तस्वीर हो । हाल सञ्चारमाध्यममा आएको तिम्रो तस्वीर पनि एउटा तरकारीवाली केटीको तस्वीर बाहेक केही पनि होइन ।
नेपाल टेलिभिजनमा तिम्रो अन्तर्वाता पनि सुने/हेरेँ। त्यसपछि तिमीलाई म अझ फरक तरिकाले सोँच्न र बुझ्न थालेको छु । तिमी मेरो लागि एउटा पुस्तकजस्तै भएकी छौँ । तिमी जस्ता धेरै विद्यार्थीहरुलाई मैले पढाइरहेको छु अहिले पनि । अहिले तिमीलाई पढिरहेको छु ।
शायद अन्तर्वातामा आउँदा तिमीले जुन कुर्ता सुरुवाल लगाएकी थियौ तरकारीको डोको बोक्दा पनि त्यही लगाएकी थियौ । अन्तर्वातामा तिम्रो कुरा सुन्दा र तिम्रो हाउभाउ देख्दा तिमी अत्यन्त सरल मान्छे जस्तो लाग्यो । आफू मोडल बनेर आफ्नो अलग पहिचान बनाउँछु भनेर तिमीले आफैँलाई ढाटे जस्तै लाग्यो । वा अरुको बहकाउमा लागेजस्तै लाग्यो ।
तिमी मेरो लागि आम मानिसले चिनेको तरकारीवाला केटी होइनौं। अनेक कलाकर्मीले भनेजस्तो कुनै मोडल वा नायिका बन्ने सम्भावना बोकेकी केटी पनि होइनौ । सिर्फ तिमी अहिलको विद्यार्थी पुस्तामा एक असल, मिहेनती र योग्य विद्यार्थी हौँ । एउटा नर्सिङ कलेज पढ्ने विद्यार्थी दशैँको बिदामा घर गएको बेला समेत तरकारीको डोको बोकेर बजार जाने तिमीभित्रको यो पारिवारिक जिम्मेवारीबोधलाई हार्दिक सम्मान गर्छु ।
कुसुम देशमा कुनै मोडलको आवश्यकता छैन । सेतो छाला भएका प्रत्येक युवतिहरु मोडल हुन सक्छन् । देशमा कुनै फिल्ममा निर्देशकको इशारामा खेल्ने नायिकाको जरुरत छैन । देशलाई तिमी जस्तो कुनै सिनेमा भन्दा फरक वास्तविक नायिका चाहिएको छ । लाखौँ युवाहरुलाई निसङ्कोच आफ्नो काम र पारिवारिक जिम्म्मेवारीलाई आत्मसात गर्दै आफ्नो लक्ष्यप्राप्तिको लागि हिड्न प्रेणित गर्ने नायिका चाहिएको छ । कामले मान्छेलाई कहिलै सानो बनाउँदैन, पिठ्यूमा बोकेको डोकोले अनुहारको सुन्दरता बिगार्दैन, निधारमा लगाएको नाम्लोले मान्छेको भाग्य थिच्दैन तिमी यही सन्देश संवाहक नायिका बन। तिमी वास्तविक जिवनमै नायिका छौ किन फिल्मकी हिरोइन बन्न्नु पर्यो? तिमी आफैँमा एउटा नमुना केटी हौ किन अरुले मोडल बनाउनुपर्यो ?
तिमी जुन बाटोमा छ्यौ, सही बाटोमा छ्यौ । अहिले तिम्रा अघि जे जस्ता अवसर आएका छन् ती फगत हुन केही पनि होइनन् । तिमी जस्ता मिहेनेती र कर्मशील मान्छेलाई अवसरहरुले पछ्याइरहन्छन् । चन्द्रमा ताकेर हिँड, जुनकिरीको तिरमिरे उज्यालोमा आफूलाई भुलाउने गल्ती नगर ।
अन्तमा तिमीलाई मेरो यो पत्रले मन दुखाएमा माफी चाहन्छु।
उही कृष्णप्रसाद शर्मा, दाङ
हाल, रिलायन्स कलेज, काठमाण्डौ ।
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Entertainment Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: